दक्षिण कोरिया फस्यो उत्तर कोरिया र अमेरिकाको खेलमा

दक्षिण कोरिया  फस्यो उत्तर कोरिया र अमेरिकाको खेलमा
समाचार

प्योङचाङमा भएको शीतकालीन ओलम्पिकका क्रममा कैयौं वर्षपछि आशाको एक सानो किरण छरियो तर यो धेरै दिन रहने लक्षण देखिँदैन ।

उत्तर कोरियाले दक्षिणका साथ बैठक गरिरहेको छ र आणविक हतियारको मुद्दा उठ्दा पनि वार्ता त्यागेको छैन ।

दक्षिण कोरियाका एकीकरण मन्त्री चो म्योङ–ग्योनले भने, ‘हामीले उत्तर कोरियालाई धेरैचोटि कोरियाली प्रायद्वीपबाट आणविक हतियार हटाएमा पारस्परिक सम्बन्ध सुध्रिने बतायौं । यसलाई शान्तिपूर्वक सुल्झाउनका लागि उत्तरले अमेरिकासँग कुराकानी गर्नुपर्ने पनि हामीले बतायौं ।’

त्यसो त उत्तर कोरियाले पनि अमेरिकासँग कुराकानी गर्न तयार रहेको बताएको छ । तर अमेरिका के चाहन्छ त ?

सोमवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले पनि कुराकानी गर्न चाहेको तर उचित शर्तका साथ मात्र कुराकानी गर्ने बताए ।

उनले शर्त के हुन् चाहिँ बताएनन् ।

तर यसबीचमा उत्तर कोरियामा अमेरिकाको सबभन्दा अनुभवी राजदूत जोसेफ युनले रिटायर भएको घोषणा गरे ।

रिटायर हुने सही समय यही भएको उनले मिडियालाई बताए र अमेरिकी नीतिहरूमा मतभेद यसको कारण होइन ।

विज्ञहरूका अनुसार, जोसेफ सम्झौता र कूटनीतिको पक्षमा थिए ।

उनी गएपछि ट्रम्प सरकारले उत्तर कोरियासँग न्यानोपनको कोशिशमा धक्का लाग्न सक्छ ।

उत्तर कोरिया कुराकानीका लागि तयार हुनु विशिष्ट अवसर हो ।

यूनसेई विश्वविद्यालयका प्राध्यापक जोन डेल्यूरीले बताएअनुसार यो खराब संकेत हो ।

उनले भने, ‘जोसेफ कुनै उत्तराधिकारीविना नै किन रिटायर हुँदैछन् ? कुनै पनि सीईओ नयाँ व्यक्तिको नाम घोषणा नगरिकनै यति महत्त्वपूर्ण सदस्यलाई राजीनामा दिन दिँदैन ।’

उत्तर कोरियासँग सानो सम्बन्ध बनाउन पनि एकदम गाह्रो छ र त्यसका लागि एक विशेषज्ञ आवश्यक हुन्छ ।

अहिले त अमेरिकाले दक्षिण कोरियामा आफ्नो राजदूत समेत नियुक्त गर्न सकेको छैन ।

अमेरिकासँग स्टाफको कमी देखिँदा दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन चाहिँ धेरै काम गरिरहेका छन् ।

मूनले उत्तर कोरियासँगको कुराकानीको मुद्दामा प्रचार गरेका थिए अनि नयाँ वर्षको भाषणमा उत्तर कोरियाको राष्ट्रपति किमको प्रस्तावको अवसरलाई हातबाट जान दिने छैनन् ।

राष्ट्रिय महिला आईस हकी टोलीमा उत्तर कोरियाका खेलाडीहरूलाई समावेश गर्दा उनको अप्रुभल रेटिङमा पनि वृद्धि भयो । विमानस्थलमा खेलाडीहरूलाई बिदाइ गर्दा दक्षिणीहरूको आँखामा आँसु थियो ।

मूनले अमेरिकालाई उत्तरसँगको कुराकानीका लागि आफ्ना शर्त कम गर्न भनेका छन् ।

उनले प्यारालम्पिक खेलहरूपछि हुने संयुक्त सैन्य अभ्यासभन्दा अघि केही प्रगति होस् भन्ने प्रयत्न गर्दैछन् । त्यसो हुँदा उत्तर कोरिया भड्किन्छ र कतिपल्ट प्रतिक्रियास्वरूप क्षेप्यास्त्र परीक्षण गरेको छ ।

वास्तविक प्रगति होस् भन्ने उनी चाहन्छन् । अमेरिका र उत्तर कोरियाले यस अभ्यासभन्दा अघि सँगै बस्नुपर्ने उनी चाहन्छन् ।

केही विज्ञहरूले उत्तर कोरिया शायद अमेरिकाबाट आणविक हतियारका बारेमा कुराकानी तयार हुने छैन भनेका छन् ।

तर किमले दक्षिण कोरियालाई आफ्ना क्षेप्यास्त्र नतेर्स्याएको बरू अमेरिकी आक्रमणकारीतर्फ सोझिएको बताए । आणविक हतियारले पूरै कोरियालाई बचाउने उनले बताएका छन् ।

अमेरिका र उत्तर कोरियाको यो खेलमा धेरै कुरा दाउमा छन् । दक्षिण कोरिया यस खेलमा फसेको छ र ऊ आफैं नाजुक स्थितिमा छ ।

राष्ट्रपति मूनले कुनै मुख्य खेलाडीको सहयोगविना नै आफ्नो तर्फबाट गर्नसक्ने जति सबै गरिसकेका छन् । अब हात बढाउने पालो अमेरिकाको हो ।

बीबीसीमा प्रकाशित लउरा बिकरको विश्लेषणको भावानुवाद

Post Comment