बेइजिङ, २२ फागुन । नेपालको उत्तरी छिमेकी चीनले आफ्नो सैन्य बजेटमा भारी बढोत्तरी गरेको छ । विश्वकै सबैभन्दा ठुलो सेना रहेको चीनले रक्षा बजेटमा भारी वृद्धि गरेको हो ।
हालैका वर्षहरुमा चीनले आफ्नो सुरक्षाफौजलाई आधुनिकिकरण गर्ने दिशामा लगातार लगानी बढाइरहेको छ । चीनले आगामी वर्षका लागि आफ्नो रक्षा बजेट घोषणा गरेको छ । चीनले आफ्नो सेनाका लागि १.११ ट्रिलियन युआन (१७५ अर्ब डलर) खर्च गर्ने जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार चीन आफ्नो सेनाको आधुनिकीकरणका लागि भारतको भन्दा तीन गुना धेरै बजेट खर्च गर्दैछ । भारतले आफ्नो चालु बजेटमा रक्षा क्षेत्रका लागि ४६ अर्ब डलर राखेको छ । भारतको तुलनामा चीनको यो बजेट धेरै ठुलो हो ।
चीनले यस पटक अघिल्लो सालको तुलनामा आफ्नो रक्षा बजेट आठ प्रतिशत बढाएको हो । बेइजिङमा चीनको संसदको बैठकका क्रममा यसको घोषणा गरिएको हो ।
हालै मात्र इन्टरनेशनल इस्टिच्युट अफ स्ट्र्याटेजिक स्टडिज (आईआईएसएस) विशेषज्ञले अब अमेरिकाले आफ्नो सेनाको मुकाबिला रूससँग नभई चीनसँग गराउने जनाएका थिए, खासगरी समुद्रमा र आकाशमा । यसको प्रष्ट अर्थ भनेको अब चिनियाँ बायु सेना अमेरिकालाई टक्कर दिने हैसियतमा पुगिसकेको छ ।
विशेषज्ञका अनुसार चिनियाँ सेनाको आधुनिकीकरण र सैन्य क्षमताको कुनै जवाफ नै अरु देशसँग छैन । चिनियाँ सेनासँग लामो दुरीसम्म केही सेकेन्डमै मार हान्न सक्ने मिसाइलदेखि पाँचौ जेनेरेसनको फाइटर जेट समेत छ ।
चीनले यस्ता ७५ प्रतिशत हतियारलाई उसले पश्चिमी देशको तुलनामा आधा मूल्यमा बेच्छ जसको क्षमतामा पश्चिमी देशले उत्पादन गरेका हतियारले प्रतिस्पर्धा नै गर्न सक्दैनन् ।
अघिल्लो साल चीनले आफ्नो रक्षा बजेट सात प्रतिशत बढाएर १५०.५ अर्ब डलर बनाएको थियो । अमेरिकापछि रक्षा बजेटमा सबैभन्दा धेरै खर्च गर्नेमा चीन दोस्रो देश बनेको छ ।
चीनले आफूलाई जुनसुकै युद्धको अवस्थाका लागि तयार बनाउँदै दुई अरु विमानवाहक युद्धपोत बनाउने तयारीमा पनि छ । यसका अलावा नयाँ जेट लडाकू विमान र स्टिल्थ फाइटर जे-२० लाई पनि आफ्नो सेनामा सामेल गर्ने तयारी चीनले गरेको छ ।
चीनका सरकारी मिडियाले पनि अघिल्ला दुई वर्षमा बजेटमा वृद्धिको सिलसिला जारी रहेको जनाएका छन् । यस्तोमा रक्षा बजेट बढ्नुलाई पनि जायज मानेका छन् ।