सन्दर्भ महिला दिवस : डोनाल्ड ट्रम्प र महिला मार्च

सन्दर्भ महिला दिवस : डोनाल्ड ट्रम्प र महिला मार्च
समाचार

ट्रम्पजस्ता व्यक्तिको विजयले समग्र विश्वका महिलाको स्वतन्त्रता, मर्यादा, र शरीरमाथि नै प्रभाव पार्छ । महिलाले आजसम्म लामो लडाइँमार्फत स्थापित गरेका अधिकारका मुद्दा नै डगमगाउँछन् वा डगमगाउन सुरु गरिसके भनेर नै विश्वभरि ट्रम्पविरुद्ध खबरदारी गर्दै र्याली निकालिएको हो । ट्रम्पजस्ता महिलाविरोधी (Misogynist) हरु संसारका हरेक कुनामा छन् । अमेरिका जस्तो प्रभावशाली देशमा ट्रम्पजस्ता व्यक्ति शक्तिमा आउनु भनेको महिला विरोधी भूमण्डलीकृत विश्वको निर्माण हुनु हो भनेर संसारभरका महिलाहरु एक भएका हुन् । ट्रम्पको विजयले नेपालमा अवश्य असर पार्छ । यसमा एउटा मात्रै उदाहरण भनेको अमेरिकाकै ‘ग्लोबल ग्याग रुल’ भनिने ‘मेक्सिको सिटी प्लान’ले परिवार स्वास्थ्य र परिवार नियोजनसम्बन्धी काम गर्ने संसारभरका थुप्रै गैरसरकारी संस्थालाई फन्डिङ गरिरहेको थियो ।

ग्लोबल ग्याग कार्यक्रम बन्द गरिनेसाथ यसले महिलाको प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन र परिवार नियोजनसम्बन्धी कैयौं कार्यक्रमहरुलाई प्रत्यक्ष असर गर्छ । निकट भविष्यमै तपाईंले नियमित टेलिभिजनमा देखिराख्ने ‘स्मार्ट दम्पती’ जस्ता विज्ञापन देख्न छोड्नुभयो भने अचम्म नमाने हुन्छ । गर्भपतनलाई अनैतिक र चरित्रहीन भनेर नेपालमा अझै पनि व्याख्या गरिन्छ । यस्तो देशमा बलात्कारबाट रहेको गर्भ, आमाको कम उमेरमा गर्भधारणा गरेका कारण शरीर जोखिमयुक्त रहेकाले, आमामा रक्तअल्पता वा कमजोर स्वास्थ्यका अन्य कारणले रहेको गर्भ आदि कारण सुरक्षित गर्भपतन गर्न पाउनुपर्छ भनेर नेपालमा कानुन पास गराउन यहाँका महिलाले कति लामो सङ्घर्ष गरे होलान् ।

अब ट्रम्पजस्ता ‘गर्भपतन अनैतिक हो, भगवानको मर्जीको खिलाफ हो’ भन्ने व्यक्ति अमेरिकाको सत्तामा रहेपछि यो कार्यक्रमका लागि गरिने लगानी त बन्द हुने नै भयो । नेपालजस्तो देशका महिलाको स्वास्थ्यमा अत्यन्त कम लगानी गरिने ठाउँमा यस्ता सहुलियतमार्फत चलेका कार्यक्रमको महत्व निकै हुन्छ । त्यसैले ट्रम्पको विजयले सबै ठाउँको महिला आन्दोलनमा अवश्य असर पार्छ ।

Post Comment