बांग्लादेशको ढाकाबाट उडेको एउटा यात्रुवाहक विमान काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार अपराह्ण दुर्घटनाग्रस्त भएको छ।
यूएस बांग्लाले यात्रुसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १२:५१ बजे उडेको जनाएको छ। विमानमा चालकदलका चार सदस्य रहेको बुझिएको छ।
विमान दुर्घटनामा परी विमानमा सवार ४९ जना व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।
सत्सट्ठी यात्रु र चालक दलका चार सदस्यसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले दुर्घटनास्थलमा ४० जनाको शव भेटिएको र उपचारका क्रममा नौ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको जानकारी दिए।
विमानस्थलमा खटिएका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विमानको भग्नावशेषमा खोजी गर्दा हराएका भनिएका थप आठ जनाको शव भेटिएपछि हताहत हुनेको संख्या बढेको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा ३७ पुरुष, २८ महिला र दुई जना यात्रु सवार थिए।
तीमध्ये ३३ जना नेपाली, ३२ जना बांग्लादेशी, एक जना चिनियाँ र एक जना माल्दिभ्सका नागरिक भएको बुझिएको छ।
धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको एक जना प्रत्यक्षदर्शी विष्णु सापकोटाले बताए।
सापकोटा उड्न तयार अर्को विमानमा थिए।
दुर्घटनापछि केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए।
तीन घण्टापछि विमानस्थलको धावनमार्ग खुलेको राजकुमार छेत्रीले बताए।