भारतीय नेताले भने: “ओली नेतृत्वको सरकाले नेपालमा कायापलट गराउँछ”

भारतीय नेताले भने: “ओली नेतृत्वको सरकाले नेपालमा कायापलट गराउँछ”
समाचार

 भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्णसमर्थन रहेको स्पस्ट पारेका छन् ।

‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ’–मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा नेता जोलीले भने–‘म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहन्छ ।’

भारतले सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहेको उनको भनाइ थियो ।

‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ, हाम्रो प्रधानमन्त्री मोदीजीको पनि यही चाहना हो’–उनले भने ।

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी पाँच वर्षका लागि गठन भएकाले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्णविश्वस्त रहेको बताए ।

उनले भने–‘हाम्रो आशा छ, यस जनादेशअनुसार अब नेपालमा राजनीतिक स्थायित्व हासिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिका लागि ओली सरकारसँग मिलेर काम गर्ने उनको विश्वास थियो ।

उनले नेपाल–भारतबीचको प्रबुद्ध व्यक्ति समूहले द्विपक्षीय सम्बन्धमा देखिएका सबैखाले समस्याहरुलाई हल गर्न साथर्करुपमा काम गर्ने विश्वास पनि व्यक्त गरे ।

यस्तै, उनले नेपालमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरुलाई बैंकिङ च्यानलमार्फत् आफूले आर्जन गरेको पैसा पठाउन सहज वातावरण बनाउन पनि नेपाल सरकारलाई आग्रह गरे ।

‘जसरी भारतमा बस्ने नेपाली नागरिकहरुले भारतमा आफूले कमाएको पैसा स्वदेश ल्याउन पाउने सहज व्यवस्था छ, त्यस्तै नेपालमा बसोबास गर्ने भारतीयहरुले पनि लैजान पाउनुपर्छ’–उनले भने ।

Post Comment