अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी पहाडसहित राजधानी उपत्यका आसपासका क्षेत्रमा घुमफिर नगर्न भन्दै’ट्राभल एडभाइजरी’ जारी गरेको छ ।
स्थानीय समूहबाट असुरक्षा बढेको भन्दै अमेरिकी दूतावासले चन्द्रागिरी हिल्स प्रालिको नाम नै तोकेर चन्द्रागिरी पहाड क्षेत्रमा नजान भ्रमपूर्ण ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो ।
दूतावासले मंगलबार यस्तो ‘ट्राभल एडभाइजरी’ जारी गरेपछि यसको विरोध सुरु भएको छ । देशका पर्यटन क्षेत्रमा क्रियाशील संघ संस्थाले माओवादी संघर्षको समयमा समेत अमेरिकी दूतावासले यस्तो एड्भाइजरी जारी नगरेको भन्दै दुस्ख व्यक्त गरेका छन् ।
‘उक्त क्षेत्रमा स्थानीय समूहहरूले धम्की र त्रास फैलाउने काम गरेका छन् । त्यसकारण त्यस क्षेत्रमा नजान सुरक्षा अलर्ट जारी गरिएको छ’, दुतावासले भनेको छ, ‘मार्च महिनाभरी उक्त क्षेत्रमा अमेरिकी नागरिक नजानु होला ।’
अमेरिकी दूतावासले यो एडभाइजरी जारी गरेको भोलिपल्ट अर्थात् बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली केबलकारबाट चन्द्रागिरी पहाड पुगेको थियो ।
चन्द्रागिरीमा पुगेर मन्त्री अधिकारीले अमेरिकी दूतावासले जारी गरेको एडभाइजरीबारे आफूले कुरा गर्ने पनि प्रतिक्रिया दिएका छन् । नेपालको सुरक्षामा अहिले कुनै समस्या नरहेको बताउँदै मन्त्री अधिकारीले नेपाल घुम्ने विश्वका सबै देशको सुरक्षाको जिम्मा आफूहरुको रहेको पनि प्रतिवद्धता जनाए ।
चन्द्रागिरी हिल्स प्रालिले पनि अमेरिकी दूतावासले जारी गरेको ट्राभल एडभाइजरीबारे आफूहरु जानकार नरहेको जनाएको छ ।