ट्रम्पसँगको सम्बन्धबारे नबोल्न पोर्नस्टारलाई धम्की

ट्रम्पसँगको सम्बन्धबारे नबोल्न पोर्नस्टारलाई धम्की
समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग १२ वर्षअघि यौन सम्बन्ध रहेको बारे नबोल्न भन्दै आफूमाथि धम्की आएको पोर्न फिल्म अभिनेत्री स्ट्रोमी ड्यानियल्सले बताएकी छन् ।

वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्टेफानी र ट्रम्पबिच सन् २००६ मा सम्बन्ध कायम भएको सार्वजनिक भएपछि ट्रम्पको आलोचना हुँदै आएको छ । त्यसबेला ट्रम्पको मिलानिया ट्रम्पसँग विवाह भइसकेको थियो ।

प्रथम महिला मिलानिया ट्रम्प र छोरा ब्यारेनका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । सिबिएस न्युजसँगको कुराकानीको क्रममा स्ट्रोमीले आफूलाई सन् २०११ मा एक अपरिचित व्यक्तिले लस वेगासमा ट्रम्पसँगको सम्बन्धको बारेमा नबोल्न भन्दै धम्की दिएको बताएकी हुन् ।

ती व्यक्तिले ट्रम्पसँगको सम्बन्धका बारेमा बोलेमा आफ्नो छोरीमाथि खतरा हुने चेतावनी दिएका स्ट्रोमीको भनाई छ ।

ट्रम्पले भने स्ट्रोमीसँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको बताउँदै आएका छन् । ट्रम्पका वकिलले सन् २०१६ को राष्ट्रपति चुनावअघि भएको सम्झौताको उल्लंघन भएको भन्दै २० मिलियन अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै आएका छन् । तर स्ट्रोमीले भने ट्रम्पका वकिलले गरेको दाबी अवैध रहेको बताएकी छन् ।

स्ट्रोमीले आफू र ट्रम्पबिच एक पटक मात्रै यौन सम्बन्ध भएको बताएकी छन् । सन् २००६ को जुलाइमा क्यालिफोर्नियाको लेक टाहोइमा भएको गल्फ टुर्नामेन्टको सेलिब्रेसन स्वरुप होटलको कोठामा आफू र ट्रम्पबिच यौन सम्बन्ध कायम भएको उनले बताएकी छन् । ट्रम्पले सन् २००५ मा मिलानियासँग विवाह गरेका थिए ।

Post Comment