प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँगको भेटमा प्रवासी नेपालीले सीमा नाकामा हुने समस्या र बैंक तथा वित्तीय क्षेत्रमा भोग्नुपर्ने समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका हुन्।
नेपाली नागरिक रोजगारी, अध्ययन तथा व्यापारका लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका छन्।
भेटका क्रममा प्रवासी नेपालीले प्रधानमन्त्रीले नै विशेष पहल गरिदिए आफूहरु नियमित रुपमा काम गर्न, व्यापार गर्न र अध्ययन गर्नसमेत सहज हुने धारणा व्यक्त गरेका थिए।
संविधान कार्यान्वयनसँगै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालमा वाम गठबन्धनको सरकार गठन भएको छ। संघीय संसद्को तीन चौथाइ मतसहित वर्तमान सरकार गठन भएको भन्दै प्रवासी नेपालीले आर्थिक समृद्धि र विकासको युग शुरु हुने अपेक्षासमेत गरेका छन।
स्वदेशमा नै रोजगारीको अवसर प्राप्त भए विदेशी भूमिमा आउनु नपर्ने दुखेसो व्यक्त गर्दै प्रवासी नेपालीले नेपालको समृद्धि र उन्नतिको नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई सुझावसमेत दिए।
प्रवासी नेपालीका प्रतिनिधि जुद्धबहादुर जिटीले पीडामा रहेका नेपाली जनताको मुहारमा खुशीको सञ्चार ल्याउने गरी काम गर्न वर्तमान सरकार र प्रधानमन्त्री ओली सफल हुने विश्वास गरे। उनले प्रवासमा रहँदा नेपाली नागरिकले अनेकन हैरानी खेप्नु परेको, नेपालीको आफ्नो पहिचानसमेत नहुने अवस्था रहेको हुँदा स्वदेशमा नै फर्केर काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरे।
रोजगारीको खोजीमा बाजुराबाट नयाँ दिल्लीमा रहेका केशव रेग्मीले पनि आगामी दिनमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना हुने र विदेशमा आउनु नपर्ने अवस्था आउनेमा विश्वास व्यक्त गरे।
‘राजनीतिक नेतृत्वले चुनावमा मात्रै मतदाता सम्झने अवस्थाको अन्त्य गरी अरू समयमा पनि नेपाली नागरिकको दुःख पीडामा मल्हम लगाउने अवस्थाको सिर्जना होओस् भन्ने नेपाली जनताको चाहनालाई वर्तमान सरकारले विशेष ध्यान दिनुपर्छ’, उनले भने।
प्रधानमन्त्री भारत भ्रमणमा आएको अवसरमा नेपाली दूतावासमा सयौँ नेपाली उपस्थित भएका थिए। उनीहरुले एकमुष्ट रुपमा आफूहरुले भोग्नु परेको समस्या समाधानका लागि पहल गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।
नेपाल–भारत सीमा क्षेत्रमा नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट हैरानी भोग्नु परेको, आपराधिक प्रवृत्तिका नागरिकले लुटपाट गर्ने गरेको र रोजगारीमा रहेका नेपालीले स्वदेशमा पैसा पठाउन समस्या भएको जस्ता गुनासो उनीहरुले प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए।
समस्या समाधानको पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समुदायले भारतमा भोग्नु परेको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यहाँस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजलाई सम्बोधन गर्दै उनले पञ्चायतकालदेखि नै नेपाली समुदायको समस्याबारे आफू जानकार भएकाले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
आफू सद्भाव वृद्धि गर्न भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अरू उच्च अधिकारीसँगको भेटमा पनि नेपालीको समस्या समाधानका लागि छलफल गर्ने बताए।
नेपालमा राजनीतिक स्थिरता कायम भएको र आर्थिक समृद्धिको युग शुरु भएकाले उनले युवा शक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न वर्तमान सरकार प्रयत्नशील रहेको धारणा व्यक्त गरे।
प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणका क्रममा शुक्रबार भारत पुगेका हुन्।