रासायनिक ग्यास आक्रमणमा संलग्नहरुले ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी

रासायनिक ग्यास आक्रमणमा संलग्नहरुले ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी
समाचार

 सिरियाको गुटास्थित विद्रोहीको कब्जामा रहेको डुमा शहरमा भएको रासायनिक ग्यास हमलाको चौतर्फी निन्दा भएको छ ।

रासायनिक ग्यास आक्रमण गरेको बारे कसैले पनि स्वीकार नगरे पनि प्रारम्भिक विवरणहरुमा त्यहाँको स्थिति भयावह देखिएको छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाको डुमा शहरमा रासायनिक हमला भएकोमा निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पले विचारहीन रासायनिक ग्यास हमलामा सिरियाली राष्ट्रपति बसर अल असद र उनका साझेदारहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानलाई दोष लगाएका छन् ।

उनले क्रुरतापूर्ण आक्रमणमा संलग्नहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

विद्रोही नियन्त्रित सिरियाको डुमा शहरमा भएको रासायनिक ग्यास हमलामा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकाले रासायनिक आक्रमणमा भएका विवरणहरुलाई त्रासदीपूर्ण भनेको छ । त्यस्तो विवरण पुष्टि भएमा तत्कालै अन्तर्राष्ट्रिय प्रतिक्रिया आउनुपर्ने माग अमेरिकाले गरेको छ ।

बेलायतले पनि सिरियामा भएको घटनाको तत्काल छानविन गर्नुपर्ने माग गरेको छ ।

यसैगरी क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रासायनिक हमलालाई विनाशकारी अस्त्रको अनुचित प्रयोग भन्दै घटनाको निन्दा गरेका छन् ।

टर्कीले भने उक्त रासायनिक हमला सिरियाले नै गराएको आरोप लगाएको छ ।

तर रुस र सिरियाले भने रासायनिक हमलामा आफूहरुको संलग्नता नरहेको जिकिर गरेका छन् ।

Post Comment