प्रश्न : बुद्धका चार आर्यसत्यबारे थाहा छ?
उत्तर : थाहा छैन ।
प्रश्न : बुद्धले बताएका अष्टांगिक मार्गबारे थाहा छ?
उत्तर : छैन ।
प्रश्न : बुद्धले सिकाएको ज्ञान र ध्यानविधि थाहा छ?
उत्तर: छैन ।
प्रश्न : अनि के थाहा छ त?
उत्तर : बुद्ध वाज बर्न इन नेपाल।
फेसबुकमा निकै सेयर भएको स्टायटस हो यो। बुद्ध वाज बर्न इन नेपालले केही नेपालीलाई यति गाँजेको छ कि अरु कुरा केही पनि सुन्न र बुझ्न चाहँदैनन् उनीहरु। बुद्ध नेपालमा जन्मिएको विश्वलाई देखाउने भन्दै टुँडिखेलमा गिनिज बुकमा लेखाउने भन्दै भेला भएर नाचगान पनि गरेका थिए। तर महिनौँ भइसक्यो, गिनिज बुकले बाल दिएको छैन। विश्वले देख्यो कि देखेन उनीहरुलाई नै थाहा होला। आज बुद्ध जयन्तिको प्रसंगमा ‘बुद्ध वाज बर्न इन नेपाल’वालाहरुले शायदै थाहा पाएको एउटा तथ्य- नेपाल एउटा मात्र बुद्ध जन्मिएको देश हैन।
बुद्ध भन्ने बित्तिकै धेरैले सिद्धार्थ गौतमलाई मात्रै बुझ्छन्। तर सिद्धार्थ गौतम आफैले भनेका थिए- म अगाडि कति जना बुद्ध भएका छन्, म पछि पनि कति बुद्ध बन्ने छन्।
खासमा बुद्धमा सिद्धार्थ गौतमको मोनोपोली छैन। जो पनि बुद्ध बन्न सक्छन्। हामी सबैसित ‘बोधी’ को बीऊ हुने गर्छ। त्यसलाई हुर्काउन सक्यौँ भने बुद्ध जो पनि बन्न सक्छ। तर सजिलो छैन त्यो जगाउन। सजिलो भइदिएको भए हरेक मान्छे बुद्ध हुन्थे नि।
बुद्ध आफैले गौतम शरमण् गच्छामी भन्न दिएका थिएनन्। उनले बुद्धम् शरणम् गच्छामी भन्न लगाए। त्यो भनेको बोधीको शरणमा जान्छौँ भनेका हुन्। उनीअघि र पछि जन्मने बुद्धको शरणमा जान भनेका हुन्।
सिद्धार्थ गौतम मात्र नेपालमा जन्मिएका हैनन्, तीन जना बुद्धको जन्मभूमि हो नेपाल। को को बुद्ध जन्मिएका थिए त नेपाल?
१) ककुसन्ध बुद्ध
ककुसन्ध पाली भाषामा र संस्कृतमा क्रकुच्छंद बुद्ध थेरवादी परम्परा अनुसार अहिलेको कल्प (भद्रकल्प) का पहिला बुद्ध हुन्। यो कल्पमा पाँच बुद्ध हुने मानिन्छ। त्यसमध्ये पहिलो ककुसन्ध हुन् भने चौथो गौतम बुद्ध हुन्। पाँचौँ आउनेवाला बुद्ध चाहिँ मैत्रेय बुद्ध।
ककुसन्ध बुद्धको जन्म खेमावतीमा भएको हो। खेमावतीलाई गोटीहवा नामले अहिले चिनिन्छ। यो नेपालको कपिलवस्तुबाट चार किलोमिटर दक्षिणपूर्वमा पर्छ। लुम्बिनी आउँदा सम्राट अशोक गोटीहवा पनि गएका थिए। त्यहाँ पनि उनले पिलर गाडेका थिए। गोटीहवामा स्तुप पनि छ।
पाली परम्परामा ककुसन्ध २२ औँ बुद्ध हुन्। उनका पिता अग्गिदत्त खेमावतीका राजा खेमंकरका ब्राह्मण पुरोहित थिए। उनकी आमाको नाम विशाखा र पत्नीको नाम विरोचमना र छोराको नाम उत्तर थियो।
चार हजार वर्षको आयुमा एउटा रथमा चढेर उनले सांसारिक जीवन परित्याग गरेको मानिन्छ। शिरीष वृक्षमुनि उनलाई ज्ञान प्राप्त भएको र प्रथम उपदेश मकिला नजिकको एउटा बगैँचामा ८४ हजार भिक्षुलाई दिएको भनिन्छ।
गोटिहवाको अशोक पिलर।
२) कोनागमन बुद्ध
कोनागमन बुद्ध यो कल्पका दोस्रो बुद्ध हुन्। पालीमा कोणागमन भनिए पनि संस्कृतमा कनकमुणि, कोणागन, कनकगामना पनि भनिन्छ। थेरवादी परम्परा अनुसार उनी २६ औँ बुद्ध हुन्। सोभवती नगरमा यज्ञदत्त ब्राहृमणकी भार्या उत्तराको कोखमा सुभगवती उद्यानमा उनको जन्म भएको हो। कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७-८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा पनि अभिलेखसहितको अशोक स्तम्भ रहेको छ । यो कनकमुनि (कोनागमन) बुद्धसँग सम्वन्धित रहेको छ।
फोटो By DiverDave – Own work, CC BY-SA 4.0, Link
निग्लिहवाको भाँच्चिएको अशोक स्तम्भ। फोटो By DiverDave – Own work, CC BY-SA 4.0, Link