अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग आफूले जुन १२ मा सिंगापुरमा भेट्न लागेको बताएका छन्।
किमलाई भेट्ने निम्तो स्वीकार गरेर ट्रम्पले गत अप्रिलमा विश्वलाई आश्चर्यचकित तुल्याएका थिए।
त्यसअघि यी दुई नेताले एकअर्काको कटु आलोचक थिए ।
ट्रम्पले यस कुराको जानकारी ट्वीटरमार्फत दिएका हुन् । उनले भने, ‘हामी दुबैले यो शिखरवार्तालाई वैश्विक शान्तीका लागि एक विशेष अवसर बनाउने कोसिस गर्नेछौं ।’
ट्रमपले उत्तर कोरियाले रिहा गरेका तीन अमेरिकी नागरिकको स्वागत गरेको केही घण्टा पछि नै उक्त घोषणा गरेका हुन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङ्याङ भ्रमणका क्रममा उनीहरूलाई मुक्त गरिएको थियो।
ट्रम्प र किमबीचको भेटवार्ताका विषयबारे छलफल गर्न पोम्पेओ त्यहाँ पुगेका थिए।
यसअघि अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेट गरेका थिएनन् ।
ह्वाइट हाउसका अनुसार शिखरवार्ता अघि सद्भावनाको संकेतको रुपमा यी तीनलाई रिहा गरिएको हो । ट्रम्पले उक्त वार्ता सफल हुने आशा व्यक्त गरेका छन् ।
उनले भने, ‘मलाई लाग्छ कि हामीसँग केही सार्थक गर्नका लागि यो सबैभन्दा राम्रो मौका हो । ’
उक्त भेटवार्ताको मुख्य मुद्दा उत्तर कोरियाको परमाणु हतियार हुनेछन् जसलाई अमेरिकाले नष्ट गर्न माग गरिरहेको छ ।
अमेरिकाद्वारा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटाउने मागका साथै दक्षिण कोरियामा ३० हजार अमेरिकी सैनिकको उपस्थिती पनि उक्त वार्ताको महत्वपूर्ण मुद्दा हुने अनुमान गरिएको छ ।
अप्रिलमा किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने बाचा गरेका थिए ।
यसअघि पनि सिंगापुरमा यस्ता उच्चस्तरका कूटनीतिक भेटवार्ता हुँदै आएको थियो। सन् २०१५ मा चीन र ताइवानले पनि सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए।
अमेरिका र सिंगापुरबीच निकट सम्बन्ध छ। सिंगापुरले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध राखिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कडा तुल्याइँदा अन्य मुलुकले उत्तर कोरियासँग व्यापार गर्न बन्द गरेपनि सिंगापुरले भने त्यसो गरेको थिएन।