उत्तर कोरिया पारमाणविक अस्त्र परित्याग गर्न सहमत भए अमेरिकाले उसको अर्थतन्त्रको विकासमा सघाउने जनाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिण कोरियाली साथीहरुसँग मिलेर उत्तर कोरियामा समृद्धि हासिल गर्नका लागि सघाउन तयार रहेको जनाएका हुन् ।
प्योङयाङबाट फर्केपछि पोम्पेओले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जेङ उनसँग राम्रो कुराकानी भएको पनि बताए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किमबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ ।
उत्तर र दक्षिण कोरियाबीच अप्रिलमा महत्वपूर्ण वार्तापछि ट्रम्प र किम शिखर बैठक गर्न सहमत भएका थिए ।
वाशिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि पोम्पेओले किम सही बाटो रोज्छन् भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य आउने बताए ।
पोम्पेओले छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्न प्योङयाङलाई आग्रह पनि गर्नुभयो ।
उत्तर र दक्षिण कोरियाबीच हालै सम्पन्न शिखर बैठकमा कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रबाट मुक्त पार्न मिलेर काम गर्ने सहमति भएको थियो ।