शंकराचार्यको खुलासा: हिन्दुराज्य स्थापनाकाबारेमा पूर्वराजा ज्ञानेन्द्रसँग छलफल

शंकराचार्यको खुलासा: हिन्दुराज्य स्थापनाकाबारेमा पूर्वराजा ज्ञानेन्द्रसँग छलफल
समाचार

भारतको उडिसास्थित जगन्नाथ पुरी मठका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग नेपालमा हिन्दुराज्य स्थापनाकाबारेमा छलफल भएको खुलासा गरेका छन् ।

मंगलबार वीरगन्जको गोपालमन्डी धर्मशालामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराजा शाहसँग सो विषयमा छलफल भएको बताए ।

कारणबस नेपालबाट राजतन्त्र र हिन्दुधर्म हटाइएपनि त्यसको पक्षमा सबै दलका नेताहरु रहेको शंकराचार्यको भनाइ थियो ।

गरिबी, अशिक्षा र असमानताको नारा भजाएर नेपालमा क्रिस्चियन मिसिनरी र उग्र कम्युनिष्टहरु हावी हुँदै आएको भन्दै उनले हिन्दुराष्ट्र पुनःस्थापनाले सबै समस्याहरु समाधान हुने जिकिर पनि गरे ।

नेपाल भ्रमणमा रहेका शंकराचार्यसँग पूर्वराजा शाहले सोमबार राति वीरगन्जमा भेटवार्ता गरेका थिए ।

शनिबारदेखि तराई झरेका पूर्वराजा शाह सोमबार शंकराचार्य बसेको गोपालमन्डीमा पुगेर करिब एक घन्टा छलफल गरेका थिए ।

Post Comment