रद्द गरिएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका छन्।
एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन्।
ती दूत किम यङ-चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए।
शुरूमा ट्रम्पले त्यो पत्र निकै चाखलाग्दो भनेर व्याख्या गरे। तर पछि उनले पत्र खोलिनसकेको बताए।
ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्ततोगत्वा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताए।
उनले उत्तर कोरियासँगको सम्बन्ध बनिरहेको र त्यो निकै सकारात्मक रहेको उल्लेख गरे।