तीन जना पूर्व उच्च प्रहरी अधिकृतहरुले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीलाई समेत फसाउन खोजिएको दाबी गरेका छन् ।
पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, पूर्व डीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले आइतबार ललितपुरमा संचारकर्मीहरुसंगको भेटघाटमा सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको दाबी गरे ।
गृहमन्त्रालयका सहसचिव ईश्वर पोखरेलको छानविन समितिमाथि नै प्रश्न उठाउँदै उनीहरुले छुट्टै आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर सुन तस्करी र शाक्य हत्याको पुनः छानबिन गर्नुपर्ने माग पनि गरेका छन् ।
पूर्व एआजी भण्डारीले निष्ठावान प्रहरी कर्मचारीलाई फसाउने काम भएको भन्दै त्यसले छानबिनमा गम्भीर त्रुटी रहेको पुष्टि गरेको जिकीर गरे ।
एसएसपी लोहनीलाई हतारमा जेल हालिएको भन्दै पूर्व डिआइजी ठकुरीले अनुसन्धान गर्ने प्रहरीलाई नै कारबाही गर्दा प्रहरी संगठनमा दीर्घकालिन असर पर्ने बताए ।
भण्डारीले डीएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेल पनि संगठन भित्रका सक्षम अधिकारी हुन भने ।
यस्तै पूर्व डिआइजी रमेश खरेलले आफू पनि प्रहरीमा रहँदा ७ किलो चरेश बोकेर अपरेसनमा गई अपराधी समाउन सफल भएको भन्दै अनेक ट्रिक लगाएर अनुसन्धान गर्ने अधिकारीलाई थुन्नु गलत हो भने ।
एसएसपी लोहनीले अनुसन्धानका लागि अपनाएको तरिका पहिले देखि नै गर्ने तरिका भएको समेत खरेलको भनाइ थियो ।
गत चैत आखिरी मात्रै प्रहरी संगठनबाट बाहिरिएका पूर्व डीआइजी खरेलले निवर्तमान आइजीपी प्रकाश अर्याललाई अनुसन्धानमा अपनाइएको सवै विषय थाहा रहेको दाबी गर्दै अर्यालले मुख नखोल्नु दुखद हो भने ।