सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् ।
क्यानडामा भएको जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उनी एक्लिएका हुन ।
बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई जी–सेभेन समूहमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेका थिए। यसअघि पनि सोही समूहमा रहेको रुसलाई अन्य मुलुकहरुले क्रिमियालाई रुसमा गाभेपछि निस्कासन गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको प्रस्तावपछि जर्मनीका चान्सलर एन्जिला मर्केलले अरु युरोपियन मुलुकहरु रुसलाई ल्याउन कुनै पनि हालतमा सहमत नहुने बताए ।
त्यसैगरी बैठकमा अमेरिकाले हालै लगाएको स्टिल र आल्मुनियममाथिको करका विषयमा पनि चर्को आलोचना भएको छ ।
क्यानडाका राष्ट्रपति जस्टिन टुडोले अमेरिकाले स्टिल र आल्मुनिया आयातमा लगाएको नयाँ कर गैरकानुनी भन्दै आलोचना गरे ।
उनले इरानसँगको परमाणु सम्झौता र जलवायु परिवर्तनका मुद्दामा अलग हुने अमेरिकी निर्णयको आलोचना गरे ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले पनि अमेरिकाले चालेका कदम प्रत्युत्पादक भन्दै त्यसलाई सच्याउन सुझाव दिए ।
ट्रम्पले भने स्टिल र आल्मुनियममा लगाएको कर यथावत रहने र यो निर्णयमा फेरबदल नहुने प्रतिक्रिया दिएका छन् ।
यद्यपी फ्रान्सेली राष्ट्रपतिले धेरै विषयमा कुरा भइरहेको र व्यापारको विषयमा पनि प्रगति गर्ने सम्भावना अझै बाँकी रहेको बताए ।
बैठकमा सदस्य मुलुकहरुबीच आरोप प्रत्यारोप भएपछि संयुक्त वक्तव्यसमेत जारी नहुने अड्कल गर्न थालिएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने वक्तव्य जारी हुनेमा आफू विश्वस्त भएको बताए ।
जी–सेभेन समूहमा क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, इटली, जापान र जर्मनी रहेका छन् । यी मुलुकले विश्व व्यापारको करिब ६० प्रतिशत हिस्सा ओगट्ने गरेका छन् ।(रासस)