भारतको पिथौरागढमा जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण-१३’ मंगलबार समापन भएको छ ।
तर, भारतीय मीडियाले यो सैन्य अभ्यास चीन विरुद्ध भएको भनेर प्रचार गरिरहेका छन् ।
भारतीय न्यूज च्यानल एवीपी न्यूजले राती ८ : ३० बजे प्रशारण गरेको समाचारमा सैन्य अभ्यास चीन विरुद्ध भएको दावी गरेको हो ।
त्रिदेशीय सीमा नजिक भएको यो सैन्य अभ्यास खास रहेको भारतीय सैन्य अधिकारीहरुले बताएको एवीपी न्यूजको भनाई छ ।
दोक्लाम विवादले भारत र चीनवीच तनाव बढाएको थियो ।
पछि वार्ताबाट दुई देशले यसको हल गरेका थिए ।
नेपाली सेनाले बुधवार विज्ञप्ती जारी गरेर अभ्यासमा प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरिएको उल्लेख गरेको थियो ।
भारतको मिजरममा २०६७ सालबाट पहिलो पटकसुरु भएको यस्ते संयुक्त अभ्यास हाल एक–एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ । तर, भारतीय मीडियाले चाहिँ यसलाई चीन विरुद्ध भनेर प्रचार गरेपछि नेपाली सेनाको सैन्य कुटनीति विवादमा आउने खतरा छ ।
भारतीय मीडियाको यस्तो दावी ठीक यो बेला आएको छ, जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्देछन् ।