पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् ।
अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा पत्रकार सन्देश श्रेष्ठ, रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका छन् ।
उक्त फुट ट्रयाकको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर गर्ने कार्यक्रम थियो ।
उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु फिर्के खोलामा रहेको रेलिङमा आड लागेर बसेका थिए ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको हो ।
डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत ५ जना थिए ।
खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।
पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।
पोखराको बीच भाग भएर बग्ने फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) निर्माण शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको १ करोडको लागतमा फिर्के खोलाको दुबैतर्फ फुट ट्रयाक खोल्न लागिएको हो ।