ऐतिहासिक महत्त्वको चन्द्रागिरी पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले मर्मस्पर्शी कविता लेख्नुभएको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आइतवार चन्द्रागिरिमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ’ भन्दै कविता लेख्नु भएको हो ।
मृगौला प्रत्यारोपणपछि उपचारमा रहनुभएका प्रधानमन्त्री ओलीले बेला बेखतको आफ्नो सम्बोधनमा आयुसम्बन्धी प्रसँग निकाल्ने गर्नुभएको छ ।
प्रदेश नम्बर तीनको प्रदेशसभामा समेत प्रधानमन्त्री ओलीले आफ्नो शरीर पार्टपूर्जा जोडेर जिवीत रहेको भन्दै केही राम्रो काम गर्ने बताउनु भएको थियो ।
‘आयुको सीमा हुन्छ, तर इमानको सीमा हुँदैन’ तसर्थ इमान बेचेर काम गर्न हुँदैन भन्दै आफ्ना सांसदहरुलाई इमान बेचेर काम नगर्न समेत ओलीले निर्देशन दिनु भएको थियो ।
आइतबार साहित्यकारसँग चन्द्रगिरीमा पुग्नुभएका प्रधानमन्त्री ओलीले १० लाइनको कविता लेख्नु भएको छ । प्रधानमन्त्रीले मरेपछि पनि सपना देख्न पाउँ भन्दै कविता कोर्नु भएको छ । ओलीलाई नेपाली राजनीतिमा सपना देखाउने नेताको रुपमा लिइन्छ । ओलीले पानी जहाज, रेल, हावाबाट बिजुली र देश संवृद्ध बनाउने सपना देखाउनु भएको छ ।
यस्तो छ ओलीले लेखेको कविता
परिवर्तनशील दुनियाँमा सधै बाँचेको को छ र
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ
चन्द्रगिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।
प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो ।
यस्तो थियो आत्रेयको कविता
“सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ?
देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?
प्रधानमन्त्री केपी शर्मा ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरु सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफ्ना कानलाई अडेस लगाइरहनुभएको थियो ।
आफूले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा आज “चन्द्रागिरिबाट समृद्धिका स्वर” सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँगै वरिष्ठ साहित्यकार, चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल पनि मञ्चमा बसेर कविता श्रवणबाट मन्त्रमुग्ध हुनुभएको थियो । कविता फुरेमा कार्यक्रमको अन्त्यसम्म आफूले पनि कविता सुनाउने प्रधानमन्त्रीको उद्घोषले सहभागीमा अर्को उत्सुकता पनि पैदा भइरहेको थियो ।
गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेलले शार्दुलविक्रीडित छन्दमै थप्नुभयोे,
“ऊर्जा छैन विदेशमा कहरले नेपालको तागत
के समृद्ध बनाउने रहर यो डाकेर अभ्यागत”
कविहरु डिएम कन्दङ्वा, आभाष सेतु सिंह, प्रकाश चापागार्इं, लक्ष्मी माली, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुराम कडरिया, तुल्सी शर्माले समृद्धिका स्वरमा आफ्ना सिर्जना मिसाउनुभएको थियो ।
सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जिलिङ्का कर्ण विरह, खस्र्याङ्की उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्रीलगायत बंगलादेश, थाइल्याण्डलगायत मुलुकका सहभागी कविले कविता प्रस्तुत गर्नुभएको थियो । सम्मिलनमा आजै चन्द्रागिरि घोषणापत्र जारी गरिनेछ ।