प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर ग्यासको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थियो । तर उनै प्रधानमन्त्री ओलीले भाषणलाई सार्थक बनाउँदै मंगलबार विराटनगरको जतुवामा पाइपबाट घरघरमा लगिएको ग्यासको औपचारिक उद्घाटन गरेका छन् ।
विराटनगर महानगरपालिकाको जतुवामा पुगेर उनले पाइपबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन्। जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले खाना पकाइरहेका छन्।
तर, यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले होइन, विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो। सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्याइएको हो।
पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ। उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ। यो एलपी ग्यास भन्दा सस्तो हुन्छ।
सदन समितिले विश्व बैंकको सहयोगमा आर्थिक वर्ष ०७३/७४ मा विद्युत उत्पादन गर्ने उद्देश्यसाथ बायो ग्यास प्लाण्ट निर्माणको ठेक्का नेपाल उर्जा विकास कम्पनीलाई दिएको थियो। तर मुलुकमा लोडसेडिङ अन्त भएपछि समितिले २०७४ फागुनमा ग्यास उत्पादन गर्ने निर्णय गरेको थियो।
सुरुमा ८४ लाख लागतमा निर्माण थालेको प्लाण्टलाई ग्यास उत्पादन गरेर पाइपमार्फत घरघरमा आपुर्ति गर्ने निर्णय गरेपछि लागत १ करोड २५ लाख रुपैयाँ पुगेको थियो। सुरुमा लागत मूल्यको २० प्रतिशत अर्थात् १६ लाख रुपैयाँ गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो। सरकारको वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमार्फत २० प्रतिशत अर्थात् २० लाख रुपैयाँ थपेर ४० लाख उपलब्ध गराइदिएको छ। उक्त रकम विराटनगर महानगरपालिकामा सरकारले पठाइसकेको जिल्ला समन्वय समितिका वातावरण तथा ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए। उनले विश्व बैंकले ८५ लाख अनुदान सहयोग उपलब्ध गराएको बताए।
३ सय २० घनमिटरको यस बायो ग्यास प्लाण्टमा दैनिक १ सय ६० किलो ग्यास उत्पादन हुन्छ। यो ग्यास तीन किलोमिटर क्षेत्रमा १ सय ५० घरलाई पुग्छ तर प्लाण्ट भएको क्षेत्रमा बाक्लो बस्ती नभएकोले अहिले एक किलोमिटर क्षेत्र वरपरका ८० घरमा मात्रै आपुर्ति गर्ने निर्णय भएको सदनका पदाधिकारीले बताएका छन्।
सेन्थेटिकको ठूलो ट्यांकमा उत्पादन भएको ग्यास जम्मा गर्दै आपूर्ति थालिएको छ। यो ग्यास प्लाण्टले वार्षिक एक हजार सिलिण्डर एलपी ग्यास प्रतिस्थापन गर्नेछ।
महानगरका उद्योगी–व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा गौसेवा सदन चलेको छ।