प्रवासी नेपालीहरुले पनि नेपाली नागरिकसरह सबै अधिकार प्राप्त नागरिकता पाउनुपर्ने भनी नागरिकता ऐनमा संशोधन प्रस्ताव दर्ता भएकोमा प्रवासी नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।
हाल संसदमा विचाराधीन रहेको उक्त ऐनमा प्रवासी नेपालीलाई पनि अन्य नागरिकसरहको अधिकार हुनुपर्ने भन्दै सांसदहरुले कृष्णभक्त पोखरेल र सूर्य पाठकले संशोधन प्रस्ताव दर्ता गरेकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् ।
प्रवासी नेपाली मञ्चको विभिन्न देशमा रहेका समितिले दुई सांसदलाई धन्यवाद दिएको छ ।
प्रवासी नेपाली मञ्च अमेरिका, अष्ट्रेलिया, क्यानडा र न्युजील्याण्डको राष्ट्रिय कमिटीले विज्ञप्तिमा भनेको छ ‘…बागलुङ जिल्लाबाट निर्वाचित सांसद सूर्य पाठक र कानुनविद तथा चितवनबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलद्वारा संसदमा प्रवासी नेपालीहरुले पनि नेपाली नागरिक सरह नै सबै अधिकार प्राप्त नागरिकता पाउनुपर्ने प्रस्ताव दर्ता गराउनुभएको छ ।’
उनीहरुले उक्त संशोधन प्रस्ताव पारित गराउन दबाब दिने पनि बताएका छन् ।
नेपालको संविधानमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिनुपर्ने व्यवस्था छ । सोही संविधानको व्यवस्था नबाझिने गरी ल्याइएको नागरिक ऐनलाई संसदले छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको छ ।