अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्रीसँग प्रचण्डको भेट

अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्रीसँग प्रचण्डको भेट
समाचार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जी. वेल्सले भेटवार्ता गरेकी छन् ।

प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे चर्चा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सदभावका लागि धन्यवाद व्यक्त गरेका थिए ।

उनले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब नेपाल आर्थिक समृद्धिमा अघि बढेको जानकारी पनि गराए ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउँदै प्रचण्डले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’

उनले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताइन् ।

वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउँदै उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताइन् ।

Post Comment