नेपालीका लागी खतरनाक अमेरिकी ग्याँस स्टेशन : कसरी मारिन्छन् नेपाली ?

नेपालीका लागी खतरनाक अमेरिकी ग्याँस स्टेशन : कसरी मारिन्छन् नेपाली ?
समाचार

अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एक क्षेत्र ग्याँस स्टेशन हो । तर, त्यही ग्याँस स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । यहि बिषयमा तयार पारिएको यु स्टाट अगेनको ग्याँस स्टेशन बिषेश यहाँ प्रस्ततु गरिएको छ ।

कसरी मारिन्छन् नेपाली ? कसरी जोगिने ?

अहिलेसम्मका घटना हेर्दा प्राय घटना रातमा भएका छन् र लुटेराहरूबाटै गराइएका छन् । यी दुई तथ्यको विश्लेषण गर्दा राती काम गर्नुपर्ने बाध्यता, राती सुरक्षाको पोख्त व्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढ्नु, सुरक्षा उपायहरू अपनाउनेभन्दा पनि प्रतिवाद गर्ने प्रवृति हुनु र पैसा जोगाउने नाममा ज्यान माया मार्ने खालको गतिविधि नै यस्ता अप्रिय घटनाका मुल कारण देखिएका छन् ।

ग्याँस स्टेशनमा काम गर्नु वा व्यवसाय नै गर्न छोड्ने भन्ने कुरा व्यवहारिक हुँदैन । त्यसैले यस्ता घटना घट्न नदिन के गर्ने भन्ने नै यसको चुरो उपाय हो । पहिला त यस्ता घटनाहरू लुटेराबाटै हुने भएकाले लुटेराहरू किन आउँछन् भन्ने नै मूल प्रश्न हो । अहिलेसम्मका घटना हेर्दा धेरैमा व्यवसायिक लुटेराहरू नै संलग्न छन् । केहीमा लागू पदार्थका दुर्व्यसनी र खानकै लागि लुट्ने टापटिपे लुटेराहरू पनि संलग्न भएको पाइएको छ । केही घटनामा चाँहि एसियाली आप्रवासीलाई देख्नै नसक्ने जातिवादी अर्थात् रेसिस्टहरू पनि संलग्न भएको पाइएको छ ।

अमेरिकामा बन्दुक सहज पाइने भएकाले बन्दुके अपराधको संख्या दिनानुदिन बढ्दो छ । त्यसमा पनि लुटि खानु एक किसिमको प्रोफेसन नै भएको अवस्था छ । केही समययता आप्रवासीमाथिको जातीय विभेद पनि बढ्दो छ ।

यस्तो अवस्थामा होसियारीपूर्वक सावधानी उपायहरू अपनाउनु नै उत्तम हुने देखिन्छ । त्यसका लागि ग्यास स्टेसन साहुहरूले कामदारलाई सबैभन्दा ठूलो कुरा ज्यान हो, पैसा हैन भन्ने सिकाउन जरूरी छ । सकेसम्म पैसा जोगाउने तर त्यस्तो अवस्था नआए ज्यानको जोखिम नलिने भन्ने सुरक्षा मुलमन्त्र कामदारहरूलाई दिनु नै अहिलेका लागि पहिलो सुरक्षा मन्त्र हुन सक्छ ।

स्टोरमा बुलेटप्रुफ काउन्टरको व्यवस्था गर्ने, मध्यरातमा कन्भिनियन्स पसल बन्द गर्ने र ग्याँस स्टेसन मात्र चलाउने, नजिकको प्रहरीसँग सम्बन्ध बिस्तार गर्ने, आवश्यकताअनुसार ढज्ञज्ञ को प्रयोग गर्ने, सीसीटीभीलगायतका सुरक्षा सन्यन्त्रको व्यवस्था गर्ने र त्यसका बारेमा देखिने ठाउँहरूमा प्रष्टसँग लेखेर राख्नेलगायतका उपायहरू पनि अपनाउनु पर्ने हुन्छ ।

मालिकले जे भने पनि कामदारले एउटा नेपाली उखान सधैभरी सम्झनुपर्ने हुन्छ । त्यो के भने अनिकालमा बीउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु । रिसाउने, परिस्थितिको आकलन नगर्ने, सुरक्षामा लापरवाही गर्नेलगायतका ज्यान जोखिम बढाउने काम गर्नु हुदैन ।

पहिले काम गर्ने, पछि किन्ने

अमेरिकामा रहेका नेपालीमध्ये धेरैले आफ्नो अमेरिकी जीवन ग्याँस स्टेशनबाटै सुरू गर्छन् । जोखिमका लागि तयार रहने चरित्र, स्टोरमा क्यासियर भएर काम गर्न सक्ने पढाइ, आफूले भने जस्तो समयमा सहजै काम पाइने भएकाले पनि नेपालीका लागि सुरूवाती दिनमा ग्याँस स्टेशन रोजगारीको एक गन्तव्य भएको छ ।

त्यसैमा काम गर्दागर्दै पूँजी, ज्ञान र अनुभव हासिल गरेपछि धेरै कामदारहरू कतिपय अवस्थामा त्यही स्टोरकै साहुसँग साझेदार भएर त कतिपय अवस्थामा अरू साझदार खोजेर पनि ग्याँस स्टेसन खोल्न पुग्छन् । एउटा स्टोर भएपछि केही समयमा अरू थप्ने क्रम सुरू हुन्छ । यसो गरेर धेर नेपालीहरू एक हैन, दर्जनौ ग्याँस स्टेशनका मालिक हुन पुगेका छन् ।

सयौं नेपाली मालिक, हजारौं नेपाली कामदार

अमेरिकाका ५० राज्यमै नेपालीका सयौँको संख्यामा ग्याँस स्टेसन छन् र सयौँको संख्यामा नेपालीहरू ग्याँस स्टेसनका मालिक भएर तस्ककी गरिसकेका छन् । नेपालमा स्रोत नखुलेको अकुत सम्पति कमाएका मानिसको पैसा ल्याएर पनि अमेरिकामा ग्याँस स्टेसन खोल्नेहरू छन् भनिन्छ । खासगरी राजनीतिक दलका नेता र कमाउ उच्चपदस्थ कर्मचारीहरूले आफन्तमार्फत् यस्तो लगानी गरिरहेको बताइन्छ ।

नेपाली ग्याँस स्टेशन मालिकको त आधिकारिक तथ्यांक नभएकोे बेला काम गर्ने नेपालीको एकिन संख्या भन्न सकिने अवस्था छैन । वेटिङ जब अर्थात् अर्को राम्रो काम नपाउन्जेल गरिने कामका रूपमा समेत लिइने भएकाले ग्याँस स्टेशनबाट अन्य जब स्टेशनतिर हिड्नेहरूको तरल संख्या पनि ठूलो छ । कति नेपाली ग्याँस स्टेशनमा काम गरिरहेको एकिन तथ्यांक नभएकाले अनुमान मात्र गर्न सकिन्छ ।

एक अनुमानअनुसार अमेरिकाको ५० राज्यमा हजारौको संख्यामा नेपालीहरू ग्याँस स्टेसनमा काम गरिरहेका छन् । नेपालीहरूको बाक्लो आवादी रहेको टेक्सासमा मात्र पनि ठूलो संख्यामा नेपालीहरू ग्याँस स्टेसनमा काम गरिरहेका छन् ।

कम्तीमा १४ नेपालीको मृत्यु

अमेरिकी ग्याँस स्टेशनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, चुनौतिको पहाड पनि तेर्सिएको छ । खासगरी, सुरक्षाको प्रश्न अहम छ । यसै क्रममा केही नेपालीले ग्याँस स्टेशनमै असामयिक मृत्यु पनि वरण गरिसकेका छन् । एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्याँस स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेको बेला ज्यान गुमाएका छन् ।

केहि दिन पहिला मात्र ओक्लोहामा बन्दुकधारीको आक्रमणमा परी रचना श्रेष्ठ मुस्किलले बचेकी थिइन् । गम्भीर घाइते भएकी श्रेष्ठको उपचार भैरहेको छ । यसैगरी नेपालको गोरखाबासी रेशम बजगाईं सानो परिवारसहित अमेरिकोका भर्जिनियामा बसेर अमेरिकी सपना साकार पार्न खटिइरहेका थिए । हप्तामा एक दिन मात्र काम गर्ने ग्याँस स्टेशनमा गत महिना लुटेराले बजगाईको ज्यान लियो । यसबाट उनको अमेरिकी सपना त चकनाचुर भयो नै परिवार बिचल्ली भयो अनि सिंगो समाज नै स्तब्ध बन्यो ।
करिब एक बर्ष अगाडि मात्र अमेरिका आएका बजगाईको शोकमा सिंगो अमेरिकाको नेपाली समाज जुट्यो अनि लक्ष्यभन्दा धेरै सहयोग रकम जम्मा गरेर परिवालाई दियो । केही समयका लागि राहत रकमले परिवारलाई सहयोग गरे पनि श्रीमती र छोरीको जीवनमा बजगाईको अभाव सदैव भईरहनेछ ।

यी बाहेक ग्याँस स्टेशनमा काम गर्दा लुटेराको कुटाईबाट घाईते हुने, कुटाई खाने या लुटिनेहरूको संख्या ठूलै छ । अमेरिकामा ग्याँस स्टेशनमा दिनानुदिन सुरक्षा चिन्ता बढ्दो छ । व्यवसायको बीमा हुने भएकाले मालिकहरूलाई केही राहत हुने देखिन्छ । तर, अधिकांश कामदारको बीमा पनि नुहने भएकाले उनीहरूको जीवन र परिवारमा ठूलो ज्वारभाटा नै आउने गरेको छ ।

हेर्नुहोस् यस क्षेत्रमा सफलता हात पारेका अनि अनुभवहरु बटुलेका व्यक्तिहरुका साथै घटना हुनै नदिन के गर्ने ? घटना भए के गर्ने र कानुनी उपचार अनि सामाजिक दायित्वका बारेमा तयार पारिएको कार्यक्रम यु स्टाट अगेनको पुरा भाग ।

[youtube https://www.youtube.com/watch?v=HOVHKqVK-0s?feature=oembed]

Post Comment