गैह्रआवासीय नेपाली संघको व्यवस्थापनमा अमेरिकामा बाबुराम एक महिना बस्ने

गैह्रआवासीय नेपाली संघको व्यवस्थापनमा अमेरिकामा बाबुराम एक महिना बस्ने
समाचार

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि मंगलवार साँझ अमेरिका प्रस्थान गर्ने नयाँ शक्तिको प्रचार विभागले जनाएको छ ।

उनी भट्टराईको अमेरिका भ्रमण अध्ययनमा केन्द्रित हुने बताइएको छ ।

‘उहाँले यो भ्रमण मुख्यत: केही प्रश्नहरूका साथ गर्दै हुनुहुन्छ, ‘विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद/साम्यवाद दुबै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ ? के यो २१औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ ? नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरूमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ ? नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ ? अरु विकसित देशको अनुभवबाट के सिक्न सकिन्छ ? यिनै प्रश्नहरूको वरिपरि रहेर उहाँले भ्रमणका क्रममा अन्तरक्रिया गर्नुहुनेछ,’ नयाँ शक्ति प्रचार विभागद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध/प्राज्ञिक व्यक्तित्वहरू, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एसियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एसियालीहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भट्टराईको अमेरिका भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ । नयाँ शक्तिकी नेतृ एवं भट्टराईपत्नी हिसिला यमी भ्रमणमा सहभागी हुनेछिन् ।

भ्रमण पूरा गरी डा. भट्टराई असोज २२ गते नेपाल फर्किने छन् ।

Post Comment