दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का परराष्ट्र मन्त्रीहरुको बैठक ११ असोजमा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ ।
संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्युयोर्कमा पुगेको समयमा सातै देशका परराष्ट्र मन्त्रीहरुको बैठक हुन लागेको हो । सार्कको अध्यक्ष राष्ट्र नेपालले बैठकको आयोजना गर्न लागेको हो ।
बैठकमा सार्कमा रहेका सातै मुलुकहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका परराष्ट्र मन्त्रीहरु सहभागी हुनेछन् ।
भारत र पाकिस्तानबीचको विवादका कारण इस्लामावादका लागि तय गरिएको सार्कको १९औँ सम्मेलन अझै हुन सकेको छैन । पाकिस्तानले सीमापार आतंकवाद निर्यात गरेको भन्दै इस्लामावाद सम्मेलनमा सहभागी नहुने निर्णय भारतले गरेपछि ३० कार्तिक–४ मंसीर २०७३ मा आयोजना गरिएको शिखर सम्मेलन स्थगित भएको थियो ।
सार्कको १८ औँ सार्क शिखर सम्मेलन २६–२८ मंसीर २०७१ मा काठमाडौँमा भएको थियो । न्यूयोर्कमा नेपालले आयोजना गर्ने सार्क विदेशमन्त्री स्तरीय बैठकसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा पाकिस्तानका नयाँ विदेशमन्त्री शाह मेहमूद कुरेसीबीच एक्लाएक्लै भेटवार्ता हुन्छ कि हुँदैन भन्ने चासो सार्कका अन्य सदस्य मुलुकबीच छ ।
पाकिस्तानमा इमरान खानको नेतृत्वमा सरकार गठन भएपछि दुवै देशका उच्च कुटनीतिक पहिलो पटक आमने सामने हुन लागेका हुन् ।