अमेरिका र चीन व्यापारयुद्ध : असमझदारीले निम्त्याएको संघर्ष

अमेरिका र चीन व्यापारयुद्ध : असमझदारीले निम्त्याएको संघर्ष
समाचार

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको आयातकरका कारण अमेरिका निर्यात गरिने चिनियाँ सामानमध्ये आधीमा कर लाग्ने भएको छ ।

ट्रम्पले २०० अर्ब डलर बराबरका चिनियाँ सामानमाथि तेस्रो चरणमा कर लगाएका हुन् ।

यसको अर्थ हुन्छ : अमेरिकाले चीनसँग किन्ने सबै सामानमध्ये आधीमा कर लाग्नेछ । त्यो भनेको अमेरिका निर्यात गरिने ४० प्रतिशत चिनियाँ सामान हो । कर लगाइने सूचीमा रहेका आधाजसो सामान सुटकेस, हातेझोला र भाँडाकुँडा लगायत ग्राहकले किन्ने कुराहरू हुन् ।

यसले स्थितिलाई निकै गम्भीर बनाएको छ ।

चीनले पहिले नै यो कुरालाई सजिलै नस्वीकार्ने बताइसकेको छ । दुवै पक्षबीच हुने भनिएको वार्ता अब नहुने सम्भावना बढेर गएको छ ।

सम्झौता हुनै लाग्यो भनेर चिनियाँहरूले सोचिरहेकै बेलामा ट्रम्पले झड्का दिने गरेका छन् ।

ट्रम्पले सोमवार गरेको ट्वीटबाट उनी आयातकरको महत्त्वका बारेमा गम्भीर भएको देखिन्छ र उनी यसलाई बार्गेनिङको हतियार बनाइरहेका छन् ।

तर यो ठूलो दाउ हो र यसबाट चीनले भन्दा पनि अमेरिकाले धेरै कुरा गुमाउनुपर्ने देखिन्छ ।

अन्योन्याश्रित सम्बन्ध
यी करहरूको तत्काल असर अमेरिकी ग्राहकहरूमा पर्छ । अब सामानको भाउ बढिहाल्ने सम्भावना छ । चिनियाँ निर्यातकर्ताहरू पनि सामानको कम माग हुने सम्भावनाबाट पीडित हुनेछन् र दुवै देशको आर्थिक वृद्धि दबाबमा पर्ने देखिन्छ ।

म यसैबीचमा चीन गएकी थिएँ र यी दुवै देशबीचको स्थितिमा कत्रो दूरी छ भन्ने आफैंले देखेकी छु । तर यी दुई देश कसरी एकअर्कासँग जेलिएका छन् र एकअर्काको प्रगतिका लागि कसरी निर्भर छन् भन्ने पनि मैले देखेकी छु ।

एकले अर्काको नियतलाई बुझ्न नसक्नु पनि यो समस्याको एक हिस्सा हो अनि त्यही असमझदारीका कारण दुवै पक्ष टसमस गरिरहेका छैनन् ।

ट्रम्पले चीन अमेरिकी प्रविधि, अमेरिकी रोजगारी चोर्नतिर लागेको र अमेरिकी कम्पनीलाई चिनियाँ बजारमा पहुँचबाट रोक्ने फोहरी खेलमा लागेको बताए ।

अरूहरूले यति कडा कुरा नगरेपनि चीनले विश्व व्यापार संगठनमा प्रतिबद्धता जनाएअनुरूप आफ्नो अर्थतन्त्रलाई खुला बनाउने विषयमा पूर्णतः पारदर्शी नबनाएको कुरा सत्य भएको बेइजिङस्थित अमेरिकी च्याम्बर अफ कमर्सका
अध्यक्ष विलियम जारितले बताए ।

‘बजार आधिकारिक रूपमा खुला हुन सक्छ तर त्यसमा अझै अवरोधहरू छन्,’ उनले भने, ‘चीनका सम्बन्धमा विगत ३० वर्षदेखि यही समस्या छ ।’

तर दुई पक्षबीचको संरचनागत भिन्नतालाई समाधान गर्नका लागि कर थोपर्ने काम उत्तम विकल्प नभएको चीनमा रहेको अमेरिकी व्यापारिक समुदायको विश्वास रहेको जारितले थपे । चीनमा अमेरिकी व्यापारमाथि गरिने व्यवहारमा
व्यापार तनावले असर पारिसकेको उनको भनाइ छ ।

‘प्रमाणपत्र समातिदिने, कारखानामा अतिरिक्त निगरानी गर्ने, विगत पाँच वर्षको कर अभिलेखलाई बढी नै ध्यान दिएर हेर्ने, भन्सारमा सामान लामो समयसम्म राखिदिएर कुहाइदिने र अमेरिका फिर्ता पठाउने बाध्यता बनाइदिने काम
भइरहेको छ,’ उनले भने । चीनमा अमेरिकी व्यापारीहरूले भोग्नुपर्ने केही अनुभवको उनले यसरी वर्णन गरे ।

चीन : गलत बुझिएको पीडित ?
तर अरू केही व्यक्ति चाहिँ अमेरिकाले चीनलाई गलत बुझिरहेको बताउँछन् र यसैले गर्दा यी दुई देशले व्यापारयुद्धको समाधान नखोजेको उनीहरूको भनाइ छ ।

अमेरिकामा ३० लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यसको तुलनामा १५ हजार हाराहारीमा अमेरिकीहरू चीनमा अध्ययन गरिरहेका छन्, सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसनका अध्यक्ष वाङ हुइयाङले मलाई बताए ।
वाङको थिंकट्यांकले चिनियाँ सरकारलाई नीतिगत सल्लाह दिन्छ ।

यसरी व्यक्ति व्यक्तिबीचको आदानप्रदानको अभावले चीनको कथा र उसको आर्थिक नमूना पश्चिमलाई चित्त बुझ्नेगरी व्याख्या नगरिएको प्रस्ट हुन्छ ।

विगत ४० वर्षदेखि अमेरिका र चीनबीचको सम्बन्ध अमेरिकी कम्पनीहरूका लागि लाभदायक भएको पनि वाङले बताए ।

‘सबै प्रमुख अमेरिकी कम्पनीहरू चीनमै छन्,’ उनले मलाई बताए, ‘केही त अमेरिकामा भन्दा यहाँ नै ठूला छन् । तपाईं त्यो सफलता होइन भन्न सक्नुहुन्न ।’

वास्तविकता : श्रीमान् र श्रीमती
त्यसो भए कुन दृष्टिकोण सही छ त ? सत्य जहिले पनि बीचमा कतै अड्केको हुन्छ ।

चीन परिवर्तन भइरहेको छ र खुला पनि हुँदै गएको छ तर सरकारले अझै पनि अर्थतन्त्रमा निकै धेरै नियन्त्रण गरेको छ ।

केही क्षेत्रमा चिनियाँ कम्पनीहरूले समान स्तरमा काम गरेको सत्य भएपनि चिनियाँ अर्थतन्त्रका धेरै क्षेत्र अहिले पनि कडा सुरक्षाघेरामा छन् ।

तर अमेरिकाले पनि दशकौंसम्म चीनमा सस्तो श्रम प्रयोग गरेर अनि कीर्तिमानी नाफा कमाएर फाइदा लिएको छ । चीनले अमेरिकी ग्राहक र कम्पनीहरूलाई त्यस्तो सुविधा दिलाएको हो ।

‘यो व्यापारयुद्ध दुवै पक्षलाई हामी कति अभिन्न छौं भनी देखाउनका लागि जागरुक बनाउन सफल छ,’ वाङले भने, ‘यो श्रीमान् र श्रीमतीको जस्तो स्थिति हो – झगडा त गर तर पारपाचुके लिन पाउँदैनौ ।’

तर यो झगडा छिट्टै अन्त्य हुन मुश्किल देखिन्छ ।

‘अल्पकालमा मैले यसको कुनै समाधान देखेको छैन,’ जारितले भने, ‘म गम्भीर सम्झौताहरू भएको हेर्न चाहन्छु जसमा चिनियाँहरूबाट बजार खुला बनाउने, परस्परमा राम्रो व्यवहार गर्ने र समानताको नीति अपनाउने कुरा सुनिश्चित
गरियोस् ।’

आ-आफ्नो समस्याका विषयमा वाशिङटन र बेइजिङबीच पूर्णतः फरक विचार रहेकाले गर्दा यो व्यापारयुद्ध झनै चर्किने सम्भावना देखिँदैछ र यो उनीहरूका लागि र हामी सबैका लागि चिन्ताको विषय हो ।

बीबीसीमा प्रकाशित करिष्मा वासवानीको विश्लेषणको भावानुवाद

Post Comment