बलात्कारविरोधी मानव अधिकारवादीलाई नोबेल शान्ति पुरस्कार

बलात्कारविरोधी मानव अधिकारवादीलाई नोबेल शान्ति पुरस्कार
समाचार

युद्धका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नाडिया मुराद र डेनिस मक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस-आन्डरसनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।

मुराद यजिदी महिला हुन् र उनी इस्लामिक स्टेटका लडाकुहरूबाट बलात्कृत भएकी थिइन् र उनीहरूले दिएको यातना भोगेकी थिइन्।

मक्वेग कङ्गोका स्त्रीरोग विशेषज्ञ हुन्। उनी हजारौं बलात्कृत महिलाहरूको उपचारमा संलग्न छन्।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति र संस्था गरेर कुल ३३१ वटा नाम सिफारिस भएका थिए।

सन् २०१६ मा सर्वाधिक ३७६ नाम मनोनयनमा परेका थिए। कङ्गोका मक्वेग स्त्रीरोग विशेषज्ञ हुन्

विजेताहरूको नाम शुक्रवार ओस्लोमा घोषणा गरिएको हो।

यौन हिंसालाई युद्धमा हतियारका रूपमा प्रयोग हुन नदिने प्रयासका लागि उनीहरूलाई नोबेल पुरस्कार दिइएको राइस-आन्डरसनले बताइन्।

को हुन् मुराद र मक्वेग?

सन् २०१४ नोभेम्बरसम्म इराकको मोसुल सहरमा मुराद इस्लामिक स्टेटकी बन्धक थिइन्।

तर पछि उनी भाग्न सफल भइन् र यजिदीहरूको मुक्तिका लागि र मानवतस्करी रोक्न अभियान चलाइन्।

उनीलगायत झन्डै तीन हजार यजिदी महिलाहरूलाई इस्लामिक स्टेटले बन्धक बनाएको थियो। उनीहरूले बलात्कार र अन्य दुर्व्यवहार खेप्नु पर्‍यो।

ती दुर्व्यवहार सङ्गठित रूपमै सैन्य रणनीतिअन्तर्गत भएका नोबेल कमिटीकोले जनाएको छ।

उनीहरूलाई यजिदी र अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्धको लडाइँमा हतियारका रूपमा प्रयोग गरिएको थियो।

मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसङ्घकी सद्भावनादूत बनिन्।

आफ्ना सहकर्मीहरूसँग मिलेर मक्वेगले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन्।

Post Comment