संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोगीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइएमा अमेरिकाले, उनकै शब्दमा, साउदी अरेबियालाई “कडा सजाय” दिने बताएका छन्।
यदि त्यस्तो भएमा त्यसले आफूलाई “निराश र आक्रोशित” तुल्याउने ट्रम्पले बताए। तर दुई देशबीचका ठूला सैन्य ठेक्कापट्टा भने रोकिने सम्भावना नरहेको बताएका छन्।
खशोगीको हत्या भएको भन्ने आरोपहरू साउदी अरेबियाले अस्वीकार गरेको छ र उनको हत्याका उसले लागि आदेश दिएको भन्ने दाबीहरूलाई ‘झुटो’ भनेको छ।
इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावास पुगेयता साउदी सरकारका आलोचक खशोगी बेपत्ता छन्। उनी त्यहाँ अक्टोबर २ मा गएका थिए।
सीबीएस न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले सैन्य ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिकाहरू भएको र त्यसमा रुस तथा चीन पनि इच्छुक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टनियो गुटरेशले पनि खशोगीको अवस्थाबारे सत्यतथ्य प्रस्तुत गर्न माग गरेका छन्।
साउदी अरेबियाका पत्रकार जमाल खशोगीको इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासभित्र हत्या भएको प्रमाण आफूसँग भएको टर्कीले दाबी गरेको छ।
बीबीसीसँग कुरा गर्दै गुटरेशले यस्ता किसिमका बेपत्ता पारिने घटनाहरू नियमितजसो हुन सक्ने डर पनि व्यक्त गरेका छन्।
शुक्रबार साउदीका आन्तरिक मामिला मन्त्रीले, उनकै शब्दमा, घटनाबारे पूरै सत्यतथ्य पत्ता लगाउन साउदी अरेबिया इच्छुक भएको बताउँदै हत्याका लागि दिइएका आदेश आधारहीन भएको बताएका थिए।