अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आर्जेन्टिनामा हुन लागेको जी-ट्वेन्टी (जी२०) शिखर सम्मेलनको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नभेट्ने निर्णयप्रति क्रेमलिनले खेद प्रकट गरेको छ।
रुसले यसै साता क्राइमिया नजिकैको समुद्रबाट तीन युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि अमेरिकाले त्यसको विरोध गरेको संकेत दिएको हो।
ट्रम्पले पुटिन भेट्ने योजनाबारे आफ्नो कुरा फेरे पनि क्रेमलिनले पुटिन ट्रम्पसँग भेट्न तयार रहेको बताएको छ।
आर्जेन्टिनाको राजधानी ब्युनस आइरिजमा हुनलागेको जी२० समूहमा आबध्द देशका नेताहरूको भेलामा ट्रम्प र पुटिनबीच भेटघाट हुनसक्ने अपेक्षा गरिएको थियो।
तर ट्रम्पले आफ्नो योजना बदलेपछि रुसी अधिकारीहरू खिन्न भएका हुन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई नेताबीच भेट नहुँदा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्ने बताएका छन्।
सम्मेलनमा भाग लिन ह्वाइट् हाउसबाट निस्किने बेला ट्रम्पले पुटिनसँग छलफल हुनसक्ने कुरा पत्रकारहरूलाई बताएका थिए।
तर जब उनले एअर फोर्स वान विमानमा आफ्ना सल्लाहकारहरूसँग कुराकानी गरे तब उनले आफ्नो योजना बदलिदिए।
उनले पुटिनसँग छिट्टै भेट हुनसक्ने बताए पनि त्यो अनिश्चित बनेको छ। ट्रम्पले रुसले कब्जा गरेका युक्रेनी जहाजहरू र तिनमा सवार नौसैनिकहरू अझै फिर्ता नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
रुसले क्राइमियालाई सन् २०१४मा युक्रेनबाट अलग गराएर आफ्नो भूभागमा मिसाएको थियो।
त्यो कदमको अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको थियो।