कुलमान घिसिङ : जसले नेपाललाई लोडशेडिङबाट मुक्ति दिलाए

कुलमान घिसिङ : जसले नेपाललाई लोडशेडिङबाट मुक्ति दिलाए
समाचार

नेपाल र भारतबीच गत हप्ता सम्पन्न इनर्जी ब्याङ्किङसम्बन्धी प्रारम्भिक सम्झौता लगत्तै ‘स्टोरेज टाइप प्रोजेक्ट’ अर्थात् जलाशययुक्त परियोजनाको अभावमा हुने लोडशेडिङबाट अब मुलुकले मुक्ति पाउने अधिकारीहरूले बताएका छन्।

उक्त विकासक्रमसँगै लोडशेडिङ मात्र नभएर अन्य प्रयोजनका लागि समेत मुलुक ऊर्जाको हिसाबले सुरक्षित हुन पुगेको जानकारहरूको दावी छ।

वर्षौँदेखि नेपालले भारतसँग गर्दै आएको उक्त सम्झौताको मागको विषयमा भारतीय पक्ष कसरी एकाएक तयार भयो भन्ने कुरा धेरैको रुचिको विषय बन्न पुग्यो।

उक्त समाचारमा धेरैको चासो हुनुको कारण यसको दूरगामी महत्त्व र दीर्घकालीन रूपमा पार्न सक्ने असर भएको विज्ञहरूको भनाइ छ।

इनर्जी ब्याङ्किङ
यसै महिना हुने भनिएको सहसचिव स्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ बैठकले इनर्जी ब्याङ्किङका विधि र प्रारूप समेटिएको निर्देशिकालाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दक्षिणी छिमेकी भारतसँग भएको समझदारी एकाएक भएको भने होइन।

पटक पटक भएका द्विपक्षीय वार्ता र उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा नेपाल र भारतका शीर्षस्थ नेतृत्वबीच भएका कैयौँ पटकको छलफलको प्रतिफलको रूपमा व्याख्या गर्छन् कुलमान।

“यो निकै महत्त्वपूर्ण निर्णय हो र यसको दूरगामी असर छ,” प्राधिकरणस्थित आफ्नो कार्यकक्षमा बीबीसी नेपाली सेवासँग कुरा गर्दै कुलमानले भने।

इनर्जी ब्याङ्किङको अभ्यास नेपाल र भारतमा मात्र नभएर दक्षिण एशियाली मुलुकहरूका लागि समेत निकै महत्त्वपूर्ण रहेको उनको जिकिर छ।

एकीकृत ग्रिड दक्षिण एशियाको समृद्धिको प्रमुख आधार रहेको र नेपालको जदविद्युत् उक्त क्षेत्रको ‘ब्याट्री’ रहेको बताउँदै कुलमानले भारत मात्र नभएर अन्य मुलुकसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।

“भारतकै कुरा गर्ने हो भने उसले प्रयोग गरिरहेको सोलारलाई चार्ज गर्न र परिआएको बेला सोलार प्लान्ट लाई ‘पिकिङ लोड’ दिन समेत नेपालको जलविद्युत् काम लाग्न सक्छ,” उनले भने।

२०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले यसबाहेक विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए जसका कारण ‘लोडशेडिङ प्राधिकरण’ भनेर समेत चिनिने उक्त संस्थाको साख फर्काउन सफल भएको कुरामा दुईमत नरहेको जानकारहरूको जिकिर छ।

लोडशेडिङमुक्त नेपाल

नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान उक्त संस्थाको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा सर्वसाधारण थिए।

उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाण्डूलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे। प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले उक्त अभिव्यक्तिलाई महत्त्व दिएनन्।

तर सबैको अनुमान विपरीत उनको घोषणा सही साबित हुन पुग्यो। काठमाण्डूमा सफलता चुमेपछि कुलमानको महत्त्वाकाङ्क्षा बढ्यो।

अन्त्य भयो। कुलमान निकै चर्चामा आए।

धेरैले आकलन गरे विपरीत कुलमानले उक्त कार्यलाई निरन्तरता दिन सफल पनि भए। र, यो नै त्यसपछि उनले प्राप्त गरेको अन्य सबैजसो उपलब्धिहरूको सहायक हुन पुगेको उनी आफैँ बताउँछन्।

उक्त प्रक्रियामा उनले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र सचिव अनुपकुमार उपाध्यायको पनि दरिलो साथ पाए। उनीहरूको सहयोग विषेशत: सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत निर्णयमा रहेको कुलमान स्वीकार्छन्।

हालका दिनमा काठमाण्डू लगायतका प्रमुख शहरमा बत्ती जाँदै नजाने भने होइन। तर यसको नाम भने परिवर्तन भएको छ। आममानिसले बत्ती जानुलाई ‘कुलमान जानु भयो’ भन्ने गरेका छन्। जसलाई उनले गरेको कामको कारण दिइएको आदरको रूपमा धेरैले अर्थ्याउँछन्।

चुनौतीपूर्ण

लोडशेडिङको भुमरीबाट आमजनतालाई बाहिर निकाल्नु यति चुनौतीपूर्ण काम थियो कि त्यसलाई सम्पन्न गरेपछि सबै ढोका एकैपल्ट खुलेको कुलमान आफैँ बताउँछन्।

राजनीतिक सहयोग होओस् वा प्राधिकरणभित्रकै माहोल, सबै उनका लागि अनुकूल बन्न पुगे। र, त्यही आधारमाथि टेकेर एकैपटक करिब २,५०० जना कर्मचारी को सरुवा गर्ने काम उनले गरे।

“शुरुमै एस्तो गर्न खोजेको भए सम्भव नहुन सक्ने खतरा थियो। त्यसैकारण मैले पहिला लोडेशेडिङमाथि प्रहार गरे र त्यसपछि कर्मचारी प्रशासनमा,” कुलमानले भने।

आलोचना

सफलताको शिखरमा रहेका कुलमानले नेपाल विद्युत् प्राधिकरणमा कायापलट गर्न सफल भएको र एक चरणको चुनौँती पार गरे पनि आगामी दिनमा चाहिने पूर्वाधारका बारेमा भने उचित रणनीति सार्वजनिक गर्न नसकेको जानकारहरू बताउँछन्।

”उहाँले राष्ट्रको ऊर्जा क्षेत्रमा गर्नुपर्ने एक चरणको काम गरिसक्नुभएको छ। अब अर्को चरणको रणनीति अवलम्ब गरेर अघि बढ्न जरूरी छ, जसमा भने पछि परेको आभास हुन थालेको छ,” कुलमानसँग नजिक रहेर काम गरेका एकजना ऊर्जा विज्ञले नाम नबताउने सर्तमा बीबीसीलाई भने।

उनका अनुसार कुलमा माथि सानो टोलीको नेतृत्व गर्ने र आफ्ना निकटका अधिकारीहरूबाहेक अरूको कुरा नसुन्ने जस्ता आरोप पनि छन्।

”एक पछि अर्को सफलता प्राप्त गरेकाले होला पछिल्दा दिनमा उहाँले अरूको कुरा सुन्न कम गर्नुभएको महसुस हुन्छ,” उनले भने।

 

-BBCNEPALI

Post Comment