अमेरिकाको कोलोराडो राज्यस्थित वेस्टमिनिस्टर निवासी नेपाली युवा वीरेन्द्र ठकुरीको गोली हानी ज्यान लिने स्थानीय अमेरिकन प्रहरी निर्दोष ठहरिएका छन् ।
अगस्ट महिनामा बेस्टमिनिस्टर सहरका प्रहरी अधिकृत स्टिभन बेयरले २७ वर्षीय वीरेन्द्र ठकुरीको गोली हानी हत्या गरेका थिए ।
ठकुरीको हत्यापछि भएको अनुसन्धानमा प्रहरी अधिकृत स्टिभन बेयरले आत्म रक्षाका लागि गोली चलाएको उल्लेख गर्दै बेयरलाई कुनै पनि प्रकारको क्रिमिनल चार्ज नलाग्ने जनाएको छ ।
कोलोराडो राज्यका डिस्ट्रिक अटोर्नी डेभ योंगले अनुसन्धानको पूर्ण विवरण सार्वजनिक गर्दै घटना भएको अवस्थामा नेपाली युवा वीरेन्द्र ठकुरीले कुनै पनि हतियार नबोकेको भएपनि घटना परिस्थितिले प्रहरी अधिकृत बेयरले आफ्नो ज्यान जोगाउन बन्दुक चलाउन परेको उल्लेख छ ।
स्थानीय एडम्स काउन्टीस्थित प्रहरी अनुसन्धान विभागले गरेको ५ महिना लामो अनुसन्धानमा स्वर्गीय ठकुरीको गल्ती देखिएको र प्रहरी अधिकृत बेयर निर्दोष ठहर गरिएको छ ।
घटना भएका बेला वीरेन्द्र आफ्ना दाजु सुरेन्द्र ठकुरीसँगै थिए । झगडा भएको खबर पाएपछि प्रहरी बेयर स्थानीय फेडरल बुलोभार्ड नजिकको चौरमा पुगेका थिए ।
बेयर त्यहाँ पुग्दा ठकुरी दाजु भाइहरू नेपालीमा कुरा गरिरहेको र बेयरतर्फ चर्को स्वरले कराउँदै वीरेन्द्र आएपछि प्रहरी बेयरले आफ्नो रक्षाका लागि बन्दुकको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
वीरेन्द्रलाई मार्ने प्रहरीमाथि आवश्यक कारबाही नहुने भएपछि सो प्रति असन्तुष्टि जनाउँदै ठकुरी परिवारले निहथ्या वीरेन्द्रमाथि आफ्नो ज्यानको रक्षा गर्ने नाममा बन्दुक जस्तो घातक उपाय प्रयोग गर्नु गलत रहेको जनाएको छ ।
परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै ठकुरीका अधिवक्ता गेल जोन्सोनले जीवन रक्षाका लागि बन्दुक नै प्रयोग गर्नुपर्ने स्थिति यो केसमा नरहेको जनाएका छन् ।
गत अगस्ट २५ तारिखमा हत्या गरिएका वीरेन्द्र ठकुरी नेपालको काठमाडौंमा जन्मिएका थिए । स्थानीय नेपाली समुदायमा अत्यन्त मिलनसार मानिने ठकुरीको यो हत्याको विरोधमा कोलोराडोको नेपाली समुदाय एक जुट भएको थियो ।