हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सातजनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सातजनाको मृत्यु
समाचार

काठमाडौं । ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार, ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा मन्त्री अधिकारी सहितका सातवटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।

मन्त्री अधिकारी शेर्पासहित तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए। त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।

एयर डाइनेष्टीको AS-350 हेलिकप्टरमा मन्त्री अधिकारीसहितको टोली आज तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा अपराह्न करीब १ः३० बजे हेलिकप्टर दुर्घटना भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

हेलिकप्टर दुर्घटना हुनुको प्रारम्भीक कारण मौसम खराबी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

Post Comment