आजदेखि ‘लगानी सम्मेलन’ : के-के हुनेछ सम्मेलनमा ?

आजदेखि ‘लगानी सम्मेलन’ : के-के हुनेछ सम्मेलनमा ?
समाचार

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका सात क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन आजदेखि काठमाडौंमा ‘लगानी सम्मेलन’ हुँदैछ ।

सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा उद्घाटन गर्नुहुने छ । सम्मेलन मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न कोशेढुंगा सावित हुने सरकारको अपेक्षा छ ।

सम्मेलनमा करिब ३५ खर्ब लागतका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गरिँदै छ । सम्मेलनकै क्रममा एक दर्जन परियोजनामा ‘एमओयू’ हुने सरकारले जनाएको छ ।

सम्मेलनलाइ लक्षित गरी उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ । सम्मेलनमा विशिष्ट विदेशी पाहुना सहभागी हुने हुँदा सुरक्षाका लागि सरकारले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तीनवटै सुरक्षा निकायको समन्वयमा ट्राफिक प्रहरी सम्मेलनस्थल र पाहुनाको आवास क्षेत्र र आवतजावत गर्ने क्षेत्रमा करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएकाे गृहमन्त्रालयले जनाएकाे छ ।

के-के हुनेछ सम्मेलनमा ?

दुई दिने सम्मेलनको पहिलो दिन शुक्रबार नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय लगानीकर्ताको अनुभवसहित सात वटा विषयगत र दोस्रो दिन शनिबार दुई वटा क्षेत्रगत र तीन वटा ‘प्लेनरी’ सत्र सञ्चालन गरिने छ ।

सम्मेलनमा दातृ निकाय, विकास साझेदार, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागि हुँदैछन् । ४ सय स्वदेशी लगानीकर्ता र गैर–आवासीय नेपाली पनि सहभागि हुने सम्मेलनमा व्यवसायिक कम्पनीका प्रतिनिधिसँगै केही उच्चपदस्थ अधिकारीले पनि भाग लिँदै छन् ।

लगानी बोर्डकाअनुसार म्यानमारका विदेश आर्थिक सम्बन्धन मन्त्री यू थाङटुन २८ जनाको प्रतिनिधि मण्डलसहित काठमाडौं आएका छन् ।

त्यस्तै, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, बहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकाय (मिगा)का प्रमुख कार्यकारी केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष पिटर लंकेस, एसियाली पूर्वाधार विकास बैंकका उपाध्यक्ष डोङली सहभागी हुनेछन् । चीनबाट सबभन्दा बढी प्रतिनिधि आउँदै छन् ।

Post Comment