सरकारले भूमाफियाबाट हडपिएका सरकारी जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।
देशका विभिन्न भागका अर्बौं मूल्यका सरकारी जग्गाहरू भूमाफियाबाट हडपिएको पाइएपछि सरकारले ती सबै जग्गाहरू पहिचान गरी सरकारकै नाममा ल्याउने उद्देश्यले उच्चस्तरीय छानबिन आयोग बनाउने निर्णय गरेको हो ।
केही समय अघि बसेको मन्त्रिपरिषद् बैठकले ललिता निवास क्याम्पमा हडपिएको ११३ रोपनी सरकारी जग्गा फिर्ता गर्ने निर्णय गर्दै यस्तै प्रकृतिका अन्य स्थानमा हडपिएको जग्गा खोज्न उचस्तरीय आयोग बनाउने निर्णय गरेको हो ।
सरकारले आयोग गठनसम्बन्धी प्रस्ताव बनाएर मन्त्रिपरिषद्मा पेस गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । भूमि व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अतिक्रमित जग्गा खोज्न उच्चस्तरीय आयोग गठनको गृहकार्य अघि बढाइएको जानकारी दिए । उनले यससम्बन्धी प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा पठाइने बताए ।
राजधानीको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा भूमाफियाले हडपेको सार्वजनिक भएपछि सरकार आयोग गठन गर्ने निर्णयमा पुगेको हो । एक महिना अघि बसेको मन्त्रिपरिषद् बैठकले भूमाफियाले आफ्नो नाममा पारेको ललिता निवासको ११३ रोपनी सरकारी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको थियो ।
सरकारले २०२१ सालमा ललिता निवास क्याम्पलगायत ६ वटा राणाकालीन दरबार क्षेत्रका सबै जग्गा अधिग्रहण गरी क्षतिपूर्ति दिएको थियो । त्यसपछि विभिन्न बहानामा ती जग्गाहरू हडपिने क्रम सुरु भएको थियो । भूमाफियाहरूले क्षतिपूर्ति लिएका र उनीहरूका आफन्तलाई प्रयोग गरी सरकारी जग्गा हडप्ने प्रक्रिया थालेका हुन् ।
सरकारद्वारा ललिता निवासमा भएको जग्गाको हिनामिनाबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले २०२१ सालमा सरकारद्वारा अधिग्रहण गरिएका ललिता निवासबाहेक महावीर भवन नक्साल, हरिहर भवन ललितपुर, सीता भवन नक्साल, लक्ष्मी निवास महाराजगन्ज र बबरमहल कुरियागाउँका सयौं रोपनी जग्गाहरूसमेत हडपिएको हुन सक्ने भन्दै थप छानबिन गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।
छानबिन समितिका अनुसार भूमाफियाहरूले लक्ष्मी निवास, महाराजगन्जको २५८ रोपनी १४ आना , बबरमहल कुरिया गाउँको २५३ रोपनी ३ आना ३ पैसा, हरिहर भवन ललितपुर, पुल्चोकको २४० रोपनी १ आना २ पैसा जग्गासमेत हडप्ने प्रयास गरेको पाइएको छ । यस्तै, महावीर भवन नक्सालको १५४ रोपनी ४ आना २ पैसा र सीता भवन नक्सालको ११९ रोपनी १२ आना ३ पैसामा समेत भूमाफियाले आँखा लगाउँदै आएको पाइएको छ ।