सरकारले घोषणा गरेको राष्ट्रिय गौरवशाली आयोजनाहरूको सङ्ख्या हालसम्म २२ पुगेको छ।
तर ती मध्ये केवल ६ वटाको मात्र प्रगति प्रतिशत ५० वा त्योभन्दा माथि छ।
अर्थात् अधिकांश आयोजनाको निर्माण कार्य वा त्यसमा भएका खर्च तोकिएकोभन्दा आधा पनि पुगेको छैन।
ठूला आयोजना धमाधम चिनियाँ कम्पनीलाई?
आधा वा त्योभन्दा बढी प्रगति गरेका छ आयोजनामा मेलम्ची, माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा सिँचाइ, बबई सिँचाइ र लुम्बिनी क्षेत्र विकास कोष रहेका छन्। तर यी मध्ये धेरै आयोजना वर्षौँ अगाडि सुरु भएका हुन्।
मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी जलविद्युत, पश्चिम सेती जलविद्युत, रेल्वे तथा मेट्रो विकास, हुलाकी राजमार्ग जस्ता अन्य चर्चित आयोजनाहरूको प्रगति दयनीय देखिन्छ।
के भन्छ त मुख्य आयोजनाको प्रगति विवरणबारे महालेखा परीक्षकको प्रतिवेदन ?
मेलम्ची खानेपानी आयोजना:
सुरु मिति: २०५८/५९
सकिनु पर्ने मिति: २०६४/६५
हालको अवस्था: सवा २५ अर्ब रुपैयाँ खर्च भइ समष्टिगत भौतिक प्रगति ९६ प्रतिशत देखिए पनि हाल निर्माण व्यवसायीले काम छाडेको कारण निर्माण कार्य रोकिएको स्थिति।
भूकम्प र नाकाबन्दीपछि माथिल्लो तामाकोशी आयोजनाको निर्माणमा असर परेको बताइएको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना:
सुरु मिति: २०६७/६८
सकिनु पर्ने मिति: २०७२/७३
हालको अवस्था: पहिले ३५ अर्ब जतिमा सकिने भनिएको यो आयोजनामा भूकम्पपछि समय लम्बिएको र अन्य कारणले अब ४९ अर्ब रुपैयाँ लाग्ने भएको छ। कामको प्रगति ९८.७ प्रतिशत देखिए पनि पछिल्लो समय ठूला भारवहन भएका उपकरण ढुवानीमा कठिनाइका कारण जडान समस्या उत्पन्न भएको स्थिति।
फास्ट ट्र्याक सडक आयोजना:
सुरु मिति: २०६४/६५, २०७४/७५ देखि नेपाली सेनालाई निर्माण जिम्मा
सकिनु पर्ने मिति: २०७८/७९
हालको अवस्था: साढे दुई खर्ब लागत अनुमान गरिएको। हाल केही स्थानमा माटो कटिङ्ग र फिलिङ्गको कार्य भइरहेको। वित्तीय प्रगति केवल साढे चार प्रतिशत।
निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना:
सुरु मिति: २०७१/७२
सकिनु पर्ने मिति: २०७८/७९
हालको अवस्था: कूल लागत सवा खर्ब रुपैयाँ तोकिएकोमा हालसम्म एक प्रतिशतको पनि एक चौथाई जति मात्र अर्थात ३० करोड रुपैयाँ खर्च भएको छ।
सिक्टा सिँचाइ आयोजना:
सुरु मिति: २०६१/६२
सकिनु पर्ने मिति: २०७१/७२
हालको अवस्था: कूल लागत १२ अर्ब तोकिएकोमा त्यो पछि बढेर २५ अर्ब पुर्याइको छ। भौतिक प्रगति ५७ प्रतिशत पुगेको देखिन्छ। यस आयोजनाले पश्चिम नेपालमा झण्डै ४३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य राखेको छ।