नेपाली समुदायका अग्रज समाजसेवी , प्रध्यापक डा. बिष्णु ब. श्रेष्ठको आज हिन्दु परंपरा अनुसार दाह संस्कार सम्पन्न भयो ।
कोलोराडो स्थित गोल्डन निवासी श्रेष्ठ मस्तिष्क पक्षघात भई उपचारकालागी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा ७९ बर्षको उमेरमा गत आईतबार बिहान निधन भएको थियो ।
सन् १९४० मा नेपालको तेहथुम जिल्लामा जन्मेका श्रेष्ठ अध्यानको शिलशिलामा अमेरिका आई सन् १९८२ मा यूनिभर्सिटी अफ मिनीसोटाबाट पीएचडी गरेका थिए । पीएचडी गरेर केही समय सोही यूनिभर्सिटीमा अध्यापन पश्चात व्यपार व्यवसाय गर्ने उद्धेश्यले कोलोराडो आई बसोबास गर्न थालेका थिए ।
अत्यन्त मिलनसार , सरल, मृदुभाषी श्रेष्ठ कोलोराडोमा नेपाल र नेपाली समुदायको पहिचाहनकोलागी आजिवन सकृय रहे । गत बर्षमात्र नेपाली सामुदायिक भवन निर्माणकोलागी नेपाली घरको संयोजनमा अयोजित श्रीमद् भागवत् सप्ताह महायज्ञमा अहोरात्र खटेर सफल बनाउन सहयोग गरेका श्रेष्ठ पुराण व्यावस्थापन अध्यक्ष मण्डलका सदस्य रहेका थिए ।
बृद्ध अवस्थामा पनि नेपाली कार्यक्रम भनेपछी जहा जुनसुकै बेलापनि उपस्थित भई सहयोग, सल्लाह र सुझाव दिन पछि नपर्ने श्रेष्ठको निधनले कोलोराडो नेपाली समुदाय टुहुरो भएको महसुस भएको समाजसेवी नारायण श्रेष्ठ बताउछन् ।
सधै नेपाली समुदायको हकहितकालागी अग्रसर श्रेष्ठ कोलोराडो स्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका संस्थापक, नेपाली घरका बरिष्ठ सल्लाहकार, संखुवासभा समाज अमेरिका , नेःवा खल र प्रवासी नेपाली मन्च कोलोराडोको सल्लाहकार रहेका थिए ।
श्रीमती, दुई छोरा र एक छोरीका साथ लामो समय देखि कोलोराडो बस्दै आएको डा.श्रेष्ठको परिवार नेपाली समुदाय माझ चिर परिचित रहेका थिए ।
नेपाली समुदायका अग्रजलाई गुमाउदा साच्चै कोलोराडो नेपाली समाज टुहुरो भएको महसुस भएको छ ।
आज बिहान ११ बजे १ मिनेट मौनधारण गर्दै शरु भएको अन्तेष्ठी कार्यक्रममा कोलोराडो स्थित नेपाली संघ संस्थाका प्रतिनिधी, समाजसेवी, श्रेष्ठका परिवार, नातेदार, बुद्धीजिवी, शुभचिन्तक, पत्रकार, कलाकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती थियो । उपस्थित सबैले श्रेष्ठको पार्थिव शरिरमा पुष्प गुच्छा चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैगरी कोलोराडोमा रहेका सबै संघ संस्थाहरुको संयूक्त आयोजनामा भोली अप्रिल १३ तारिक शनिबारका दिन दिउसो २.३० बजे कोलोराडो सप्ताह लगाईएको स्थान भिलेज एक्सचेन्ज सेन्टरमा श्रद्धाञ्जली सभा राखिएकोले सबैलाई उपस्थिती हुन अनुरोध गरिएको छ ।