सोलुखुम्बुको लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाइलटसहित दुईजना गम्भीर घाइते छन् ।
लुक्ला विमानस्थलमा आज विहान ९ बजेर ६ मिनेटमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीकाअनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो। विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।