आज लोकतन्त्र दिवसः जनताका इच्छा पुरा गर्न नेतृत्वलाई दबाब

आज लोकतन्त्र दिवसः जनताका इच्छा पुरा गर्न नेतृत्वलाई दबाब
समाचार

बैशाख ११ गते आउँदा २०६३ सालमा लोकतन्त्र पुनर्वहालीका लागि भएको आन्दोलनका दृष्यहरु नेपालीहरुको मन मस्तिस्कमा आउने गर्दछन् ।

२०६२ साल चैत २६ गतेबाट सुरु भएको आन्दोलन २०६३ बैशाख ११ गते विघटित संसदको पुनस्थापनासंगै सफल भएको थियो ।

तात्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेस, नेकपा एमालेसहितका तात्कालीन सात दल विघटित प्रतिनिधि सभा पुनस्र्थापनालगायतका माग राखेर सडकमा ओर्लिएका थिए २०६२ साल चैतमा ।

राजनैतिक दल मात्र होइन सम्पूर्ण क्षेत्रका पेशाकर्मीहरु पनि आन्दोलनको अग्रमोर्चामा उत्रिएका थिए भने साथ दिएका थिए सवै तह र तप्का नेपाली जनताले । उक्त आन्दोलन लोकतन्त्रका लागि नेपाली जनताको अभूतपूर्व प्रदर्शन थियो ।

त्यही एकताले राजा ज्ञानेन्द्र आफ्नो हातबाट सबै शक्ति र सत्ता जनतामा फर्काउन बाध्य भएका थिए । ०६२–६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन वलिदान दिए भने सयौं घाइते भए ।

जसमध्यका केही घाइते अहिले पनि उपचारकै क्रममा छन् । २०६१ माघ १९ को शाही कू लगत्तैदेखि शुरु भएको आन्दोलनले गति लिदै २०६२ चैतदेखि निर्णायक चरणमा प्रवेश गरेको थियो ।

जनताको शान्तिपूर्ण आन्दोलनका अगाडि राजाले घुँडा टेकेका थिए भने त्यसपछि शुरु भएको लोकतान्त्रिक व्यवस्थाको अभ्यासमा तत्कालिन विद्रोही माओवादी समेत समाहित भएको थियो ।

लोकतन्त्र प्राप्तिको १२ वर्षको यस दौरानमा संविधान सभाका दुई दुई वटा निर्वाचन भए भने देशले संविधान सभा मार्फत नयाँ संविधान पनि प्राप्त गर्यो । देश संघीय लोकतान्त्रिक गणतान्त्रीक व्यवस्थाको अभ्यासमा अघि बढिरहेको छ ।

तर सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानबीन आयोग मार्फत माओवादी द्वन्दका घाउमा मल्हम लगाउने र युद्धकालमा लूटिएका नागरिकका घरजग्गा फिर्ता तथा द्वन्द्व पीडितको पुनस्र्थापना जस्ता काम भने १२ बर्ष बित्दा पनि हुन सकेका छैनन् ।

राजाको हातबाट सत्ता खोसेका जनताको आँखामा रहेको सपना १२ बर्ष पूरा हुँदा पूरा हुनु त कता हो कता ती सपना निराशामा परिणत हुन थालेको छ ।

जनताको बलिदानबाट प्राप्त लोकतन्त्र नेता र तिनका कार्यकर्ताको स्वार्थ पूर्तिको माध्यम मात्रै बन्ने दिशातर्फ अघि बढेको आभाष हुन थालेको छ ।

जनतामा छाएको निराशालाई बेलैमा चिर्न नसक्ने हो भने लोकतन्त्रको भविष्यमाथि नै कालो वादल नमडारिएला भन्न सकिंदैन ।

Post Comment