अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध लगाइएको छ । ट्रम्प प्रशासनको अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको हो ।
यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा ठुलो असर पर्ने जनाइएको छ । यसअघि सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए ।हाल यसकाे संख्या उच्च रहेकाे हुनसक्ने ठानिएकाे छ । जसका कारण क्युबाको अर्थतन्त्रमा असर पर्ने देखिएको हो ।
यसको एक कारण अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्नेगरी खर्च गरिएको अमेरिकाले देखाएको छ । क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाएने र मानवीय सङ्कट निम्त्याएको अमेरिकी दाबी छ । अमेरिकाले भेनेजुएलाका अन्तरिम राष्ट्रपति चुनिएका गुवाइदोलाई सहयोग गरिरहेको बताइन्छ ।
अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट रोक्ने अमेरिकाको प्रयास रहेको बताएका छन् । क्युबा सरकारले अमेरिकी कदमको निन्दा गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्वीट गर्दै अमेरिकी कदम पुनः असफल भइछाड्ने दाबी गरे ।