ओमानको खाडीमा तेलका दुई ट्यांकरमा भएको विस्फोटको घटनालाई लिएर अमेरिका र इरानबीच मतभेद चुलिएको छ ।
यही घटनालाई लिएर इरान र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धमा थप समस्या निम्त्याउने देखिँदै गएको छ । ट्यांकरमा भएको बिस्फोटमा इरानको संलग्नता रहेको अमेरिकाले दाबी गरेको छ । तर, इरानले त्यसको प्रतिवाद गर्दै घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनामा इरानकै संलग्नता रहेको दाबी गरेका छन् । उनले घटनामा आफ्नो संलग्नता नरहेको भन्ने इरानको दाबी झुठो भएको बताएका छन् ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टले एक भिडियोमा इरानी सेनाले सानो डुंगामा आएर बिस्फोट नभएका माइन एक ट्यांकरबाट निकालिरहेको देखिएको उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले त्यसैलाई आधार बनाउँदै घटनामा इरानकै संलग्नता रहेको बताएका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले घटनाको सत्य, तथ्य स्पष्ट रुपमा स्थापित हुनु पर्ने बताएका छन् ।
तर, रुसले भने अमेरिकी निष्कर्ष हतारमा आएको हुनसक्ने बताएको छ । ओमानको खाडीमा बिहीबार तेलका दुई ट्यांकरमा बम बिस्फोट भएको थियो । जापान र नर्वेको स्वामित्वमा रहेका दुई ट्यांकरमा आक्रमण भएको हो ।
घटना लगत्तै ट्यांकरमा रहेको सदस्यलाई उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवै उद्धार आफूहरुले गरेको दाबी गरेका छन् ।