अमेरिकाले उत्तर कोरियालीलाई नेपालबाट लखेट्न दबाब दिइरहेको खुलासा

अमेरिकाले उत्तर कोरियालीलाई नेपालबाट लखेट्न दबाब दिइरहेको खुलासा
समाचार

नेकपाका प्रमुख सचेतक देव गुरुङले मुलुकमा पछिल्लो समय पश्चिमाहरुको चलखेल तीव्र भएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङले सुरक्षाको सवैभन्दा ठूलो चुनौती कथित फ्रि तिब्बतहरुको गतिविधि भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘नेपाललाई विदेशीहरुको खेल मैदान बनाउन खोजिँदैछ,’ गुरुङले दाबी गरे ।

‘भर्खर सुनिएको छ कथित फ्रि तिब्बतका युवा कँग्रेसले बौद्धमा सम्मेलन गरे । कतिपय पश्चिमाहरु पनि भित्रभत्रै तालिमहरु चलाइरहेका छन् भन्ने खवर आइरहेका छन् । तर हामीसँग सूचना छैन । त्यसलाई कसरी नियन्त्रण गर्ने ? त्यो विषयमा ध्यान दिनुपर्छ,’ गुरुङको भनाई छ ।

उनले अध्यागमन कार्यालय विगतमा इण्डियाले आफूलाई दिनुपर्यो भनेर प्रस्ताव गरेको तर सरकारले अस्वीकार गरेको भन्दै पछिल्लो समय यो भन्दा अघिल्लो सरकारको पालामा अमेरिकनहरुले त्यस्तै प्रस्ताव राखेको बताए ।

‘अध्यागमन कार्यालयको सफ्टवेयर आधुनिकीकरण गर्नका लागि पाइसिस भन्ने सफ्टवेयर सेट गर्न अमेरिकनहरुले लगातार दवाव दिए । त्यो वेलाको सरकारले एक प्रकारको एमओयु पनि गरेको छ । त्यो एमओयु बदर गर्नुपर्छ । पाइसिस सफ्टवेयर होइन नेपाल आफैले निर्माण गरेको सफ्टवेयर राखेर अध्यागमन अपडेट गर्नुपर्छ,’ गुरुङले भने, ‘अध्यागमनमार्फत विदेशीहरुले गरेको चलखेल रोक्न काउन्टर इन्टेलिजेन्स संरचनाको विकास गर्न जरुरी छ ।’

त्यो ढंगले विकास गर्न सकेमात्रै आन्तरिक सुरक्षा व्यवस्थित गर्न सकिने गुरुङको भनाई छ ।

गुरुङले शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाले नेपाली भुमि दूरुपयोग गरेर छिमेकीहरुको विरुद्धमा प्रयोग गर्ने प्रयास भइरहेका दावी गरे ।

‘इण्डोप्यासिफिक योजना आइरहेको छ । सैन्य गठबन्धनको यो योजना विगतमा सोभियत सघलाई घेराबन्दी गर्न नाटोको जसरी प्रयोग गरिएको थियो त्यसैगरी भइरहेको छ । एसियाको सभ्यतालाई ध्वस्त गर्न इन्डोप्यासिफिक स्र्टाटेजिक पार्टनसिप भनेर सैन्य गठबन्धनको सुरुवात भएको छ,’ यसका विरुद्धमा दृढतापुर्वक उभिन सरकारलाई गूरुङको सुझाव थियो ।

उनले सरकारले त्यसमा संलग्न भएको छैन भनेर स्पष्टिकरण दिइरहेपनि जसरी प्रतिबाद गर्नुपर्ने हो त्यो नगरेको बताए । ‘पटकपटक र प्रत्येक महिना अमेरिकन अधिकारीहरु नेपाल आएर इन्डोप्यासिफिकमा प्रवेश गर्न दबाब दिइरहेका छन् । उनीहरुको नीति अनुसार जानुपर्यो भनेर उत्तर कोरियालीहरुलाई निकाल्नुपर्यो भनेर नेताहरुको घरघर पुगेर दबाब दिइरहेका छन् । यो हैसियत कहाँबाट पाए उनीहरुले ?’ गुरुङले प्रश्न गर्दै भने, ‘यो गठबन्धनमा हामी गयौँ भने नेपालको स्वाधिनताको प्रश्न गम्भिर संकटमा पर्नेछ । नेपालको स्वाधिनताको रक्षाको प्रश्न गम्भिर संकटमा पर्नेछ । त्यसैले यो विषयमा परराष्ट्रले गम्भीर हुदै पश्चिमाहरुको गतिविधि नियन्त्रण गर्न अनिवार्य छ ।’

नेता गुरुङले ‘अरुलाई तीन महिनाको भीषा दिइँदा अमेरिकनलाई ६ महिनाको र अन्य स्वयम्हरुलाई एक वर्षको अनुमति दिइँदा अमेरिकीहरुलाई २ वर्षको किन ?’ भनेर प्रश्न गरे ।

‘अमेरिकनहरुलाई विशेष प्रकारको सुविधा दिँदै गइएको छ यसले प्रकारान्तरले इण्डोप्यासिफिक क्षेत्रमा अमेरिकनहरुको गतिविध बढाउने कुरामा मलजल गर्छ,’ गुरुङको भनाई छ ।

Post Comment