दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङ्याङमा उत्साहजनक स्वागत पाएका छन्।
उनलाई एअरपोर्टमा उत्तर कोरियाली नेता किम जङ-अन र हजारौँ मानिसहरूले स्वागत गरेका थिए।
खुला छत भएको कारमा उभिएर अघि बढेका राष्ट्रपति सीलाई सडक छेउमा उभिएका मानिसहरूले समेत दोहोर्याएर स्वागत गरेका थिए।
चिनियाँ राष्ट्रपति र नेता किमबीच पहिलो चरणको वार्ता भएको छ।
उनीहरूका कुराकानी उत्तर कोरियाली परमाणु र क्षेप्यास्त्र कार्यक्रम र उत्तर कोरियामाथि लागेका प्रतिबन्धमा केन्द्रित हुने ठानिएको छ।
पछिल्ला १५ महिनामा उनीहरूबीच पाँच पटक बैठक भए पनि प्योङ्याङमा भेटवार्ता भएको भने यो पहिलो पटक हो।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम हाल अमेरिकासँग आ-आफ्नै किसिमका विवादमा रहेका छन्।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ता बिना कुनै सम्झौता टुङ्गिएपछि किम र सी बीच भएको यो पहिलो भेटघाट हो।
आगामी हप्ता जापानमा हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरूको सम्मेलनमा सी र ट्रम्पबीच छलफल हुँदैछ।
लामो समयदेखि एकअर्काका सहयोगी राष्ट्रको भूमिका खेल्दै आएको चीन र उत्तर कोरियाको सम्बन्ध पछिल्लो दशकमा भने तनावपूर्ण रहँदै आएको छ।
बेइजिङले उत्तर कोरियाको परमाणु महत्त्वाकाङ्क्षालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेपछि त्यस्तो समस्या उत्पन्न भएको हो।