अमेरिकाको टेक्ससस्थित सिमाना नजिकको एउटा बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिकाहरू अन्यत्र सारिएका छन्।
त्यहाँ पुगेका कानुन व्यवसायीहरूले बन्दीगृहमा खाना र औषधी अभाव लगायत त्यहाँको कमजोर एवम् भद्रगोलको अवस्थाबारे बोलेका थिए।
न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अनुगमनको पहुँच दिएपछि बालबालिकाहरूलाई निकै कम ध्यान दिइएको उजागर भएको हो।
त्यस्तो नाजुक अवस्थामा बालबालिकाहरूलाई त्यहाँ थुप्रै साता राखिएको थियो।
अवस्था
त्यस्ता बन्दीगृहमा गत वर्ष यता छजना बालबालिकाले ज्यान गुमाएका छन्।
अनुगमनमा गएका एक कानुन व्यवसायीले बिबिसीलाई बताए अनुसार बालबालिकाहरू यसरी थुनिएका थिए, जहाँ कोठाको बिचमा खुला शौचालय थियो। उनीहरू त्यहीं खाने-सुत्ने गर्थे।
अनुगमन टोलीमा रहेका विलिमेट युनिभर्सिटीका प्राध्यापक वारेन विनफोर्ड भन्छन्, “त्यहाँ ती बालबालिकाको ख्याल गर्ने कोही थिएनन्। पहिले भण्डारण गृह रहेको ठाउँमा सयौं बालबालिकाहरू राखिएका थिए। ति भिडभाडयुक्त मात्र थिएनन्, त्यहाँ किराहरूको प्रकोप पनि थियो।”
अमेरिकी सीमा काट्ने धेरैजसो मध्य अमेरिकी अभिभावकहरूलाई सन् २०१८ मा उनीहरूका बालबालिकाबाट छुट्ट्याइएको थियो।
आप्रवासी सम्बन्धी राष्ट्रपति डोनल्ड ट्रम्पको शून्य सहनशीलता नीतिका कारण त्यतिखेर झन्डै तीन हजार बालबालिकाहरू अभिभावकबाट अलग्याइएका थिए।
आलोचना
ती क्षेत्र आसपास बस्ने मानिसहरूले समेत बालबालिकाको त्यस्तो दयनीय अवस्था देख्दादेख्दै सहयोग गर्न नपाउनुलाई ‘हृदयविदारक अवस्था’ भनेका छन्।
सीमा अधिकारीहरूले एक वक्तव्यमार्फत् ती गृहहरू तोकिएको कामका लागि उपयुक्त नभएको स्वीकार गरेका छन्। तर उनीहरूले आर्थिक स्रोत कमजोर भएकाले त्यस्तो अवस्था आएको तर्क गरेका छन्।
टेक्ससमा सीमा सुरक्षाकर्मीहरूले यसै साता समेत अध्यागमन प्रणाली छल्दै अमेरिका प्रवेश गर्न खोज्दा सातजना आप्रवासीहरूले ज्यान गुमाएको बताएका छन्। जसमा दुई बालबालिका र एक शिशु छन्।
डेमोक्रयाटहरूले संसद्को तल्लो सदनमा ४.५ अर्ब डलर बराबरको एउटा आपतकालीन सीमा सहायता ल्याउन प्रयास गरिरहेका छन्।
तर ह्वाइटहाउसले यसअघि नै त्यसविरूद्ध विशेषाधिकार भिटो प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।
राजीनामा
आप्रवासी बालबालिकाहरू राखिने केही बन्दी गृहहरूको अवस्थाका कारण खडा भएको आलोचनात्मक अवस्थाबीच अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका प्रमुखले पदबाट राजीनामा दिएका छन्।
कार्यवाहक आयुक्तका रूपमा जन स्यान्डर्सले दुई महिनाअघि मात्र उक्त जिम्मेवारी संहालेका थिए।
बिबिसीकी एकजना सम्वाददाता भन्छिन्, “स्यान्डर्सले अर्को साता पद छाड्ने बताएका छन्। उनले कारण खुलाएका छैनन्। तर समाचारहरूका अनुसार मेक्सिकोको सीमामा उत्पन्न भइरहेका सङ्कटको अवस्थाबाट स्यान्डर्स र उक्त निकायका नेतृत्वकर्ताहरू रनभुल्लमा छन्।”
स्यान्डर्सले त्यस्तो अवस्थाका लागि पैसाको अभाव जिम्मेवार रहेको बताएका छन्।