इरानी राष्ट्रपति हसन रौहानीले ‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’ भनेका छन् ।
उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सन्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
इरान र संयुक्तराज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ ।
‘इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन’–उनलाई उद्धृत गर्दै इरानी सन्चारमाध्यमहरुले जनाएका छन् ।
यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको दाबी थियो ।
‘हामी कसैसँग पनि युद्ध चाहँदैनौं । हामी अमेरिकासँग पनि युद्ध चाहँदैनौं’–उनले भनेका छन् ।
उनले यो अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग बुधबार गरेको फोनवार्तामा व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोनवार्ताकाक्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेको इरानी सरकारी समाचार समिति ‘इर्ना’ले जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार पनि गरेका छन् । उनका अभिव्यक्तिहरुबाट यी दुई देशबीच ठूलो तनाव रहेको थाहा भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यम जनाउँछन् ।
इरानले हालैमात्र एक अमेरिकी ‘ड्रोन’माथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ ।
आफ्नो देशको सिमानाको उल्लंघन गरी विनाअनुमति आफ्नो भूमिमा प्रवेश गरेकाले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ ।
तर, इरानको यो भनाइ सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सिमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ ।
पछिल्लो समयमा अमेरिकी ट्यांकरहरुमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ ।
अज्ञात समूहहरुले अमेरिकी ट्यांकरहरुमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ ।