ट्रम्पले पुटिनलाई भने: ‘प्लिज, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू’

ट्रम्पले पुटिनलाई भने: ‘प्लिज, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू’
समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमीर पुटिनलाई सन् २०२० मा अमेरिकामा हुने निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

शुक्रबारदेखि जी–२० राष्ट्रको जापानको ओशाकामा हुने सम्मेलनका लागि त्यहाँ पुगेका ट्रम्प र पुटिनबीच साइडलाइन वार्ता सकिएलगत्तै संवाददाताहरुसँग ट्रम्पले जिस्किँदै उक्त कुरा भनेको समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रूसले हस्तक्षेप गरेको विषयले विश्वभर व्यापक चर्चा पाएको थियो । रूसी हस्तक्षेपकै कारण नै ट्रम्पले चुनाव जितेको दावी डेमोक्रेट अमेरकीहरुले गर्दै आएका छन् । यसबारे अमेरिकामा पटक पटक छानबिन नै गरिएको छ ।

अमेरिकामा आउँदो वर्ष राष्ट्रपति चुनाव हुँदैछ र ट्रम्प आफै पनि दोस्रो कार्यकालका लागि मैदानमा उत्रिसकेका छन् ।

वार्ताका क्रममा संवाददाताहरूले पुटिनलाई अर्को वर्षको चुनावमा हस्तक्षेप नगर्नू भन्नुहुन्छ कि भन्नुहुन्न भन्दै ट्रम्पलाई सोधेका थिए।

त्यसको जवाफमा ट्रम्पले किन नसोध्नु भन्दै जिस्किँदै अर्को कुर्सीमा बसेका पुटिनलाई भने, ‘प्लिज, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू ।’

ट्रम्पको ठट्टामा पुटिन भने मुसुमुसु मुस्कुराएका थिए । वार्तामा सहभागी अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसहित अरू पनि मुस्कुराएका थिए ।

सन् २०१६ को चुनावमा भएको रूसी हस्तक्षेपबारे रोबर्ट मुलरको संयोजकत्वमा गठित छानबिन समितिले आप्नो प्रतिवेदन पनि तयार पारिसकेको छ ।

Post Comment