मलाई नेपालको ठूलो महान र विशिष्ट मान्छे बन्ने लालसा थिएन : ज्ञानेन्द्र शाह

मलाई नेपालको ठूलो महान र विशिष्ट मान्छे बन्ने लालसा थिएन : ज्ञानेन्द्र शाह
समाचार

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्बीनारायण शाहको वंश वृक्ष, प्रजातन्त्रका दाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादको पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताकारुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भए ।

सदा शान्त, सौम्य , सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यही धर्तीको सेवामा जुट्न, रम्न पाएको म आफुलाई भाग्यशाली ठान्दछु ।
म नेपाल भक्त हुँ – देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ – नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ – यही मनोहारी प्रकृतिको संरक्षण सम्वद्र्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो । मेरो त्यो आस्था, आफ्नो प्रकृतिसंगको त्यो नाता, मोह ममता अझै पनि उत्तिकै छ ।

हो , म राजकुलमा जन्मे, नेपालको राजपरम्परा सदा नै लोकहितकारी रहयो, त्यसमा मलाई गर्व छ । आफ्नो देश, आफनै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म । म डाँडाकाँडा घुमे, पाखा पर्वत पुगेर रमाए, तराईका वैभवशाली समथर फाँट एवं वस्ती वस्तीमा पुगेर मैले हाम्रो प्राकृतिक तथा सामाजिक विविधता तथा विकास र पछौटेपनिको सुक्ष्म अध्ययन पनि गरे । कैयन नदीनाला खोला खाल्सी तरें – भावकुतावश् यही नेपालको गीत गुन्गुनाएर रमाएँ ।

नेपालको इतिहास – यहाँको प्रकृति सामाजिक संरचना र अवस्था व्यवस्थालाई आत्मसाथ गरेर प्रकृति संस्कृति तथा परिस्थितिमा रमाएको मलाई नेपालको ठूलो महान र विशिष्ट मान्छे बन्ने लालसा थिएन । मैले पछि थाहा पाएँ – अवोध बाल्यावस्थामै मेरो शीरमा नेपाल राष्ट्रको श्रीपेच पहिरयाइयो । त्यो इतिहासले अंकित गरेको विषय भएर पनि मलाई त्यस मानेमा गर्वको कुनै अनुभव रहेन । जान्ने बुझ्ने भएपछि मैले आफ्ना बुबाज्यू राजा महेन्द्रको शासनकालमा र दाज्यैज्यू राजा बीरेन्दको राज्यकालमा उहाँहरुलाई सघाउने तथा उहाँहरुको समीप भावपूर्वक रहेर नेपाली प्रकृति तथा यसको समुन्नति तर्फ नै आफुलाई समर्पित राखे ।

विसं २०५८ सालको जेठमा आएर नेपालमा एक अकल्पनीय दुःखद अत्यन्त मर्माहत घटना घट्यो – जो सबैको निम्ति त्रासदीपूर्ण थियो,आश्चर्यकारी थियो । अचानक म माथि ठूलो बज्रपात भयो । सोच्दै नसोचेको आफ्नै वंशनाशको पीडा मैले भोग्नु पर्यो – राजा बीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु भाउजु, भाईभतिज , धेरैको वियोगको वेदना भोग्नु पर्यो ।

जेठ १९ गतेको त्यो अकल्पनीय त्राशदीपूर्ण पीडादायी घटना मेरो आँखामा प्रत्यक्ष रहेन । म राजधानी बाहिर थिएँ, घटना उप्रान्तको विभत्स दृष्यमात्र मैले देख्नु पर्यो, सहनु पर्यो । दरबारभित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन् । त्यो घटनामा मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नी, उनीलाई पनि गोली लागेको थियो । ठूलै शल्यक्रियापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरु बाँकी रहेको कुरा चिकित्सकहरु व्यक्त गर्छन । उनको त्यो अवस्थाले अझै पनि मलाई कताकता पीडाबोध भइरहन्छ ।

तिखेर परिस्थिति विधि र परम्पराको बाध्यता भित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नु पर्ने अवस्था आयो । मैल सार्वजनिक, औपचारिक र अनौपचारिक तथा आम साञ्चारिक क्षेत्रमा त्यो पीडा एवं त्यो बाध्यता पटक पटक अभिव्यक्त पनि गरिसकेको छु । मैले धेरै ठाउँमा भने – प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहर थिएन ।

तर नेपालको कुल परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटानचक्रको अवस्था भित्र रहेर मैले नेपालको राजगद्दी सम्भाल्नु पर्यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था अवस्थामा आफुलाई लगाउनु परयो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय अवस्थामा आफुलाई पर्यो – लगाएँ , लागे र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफुलाई संवैधानिक दायरा अनुरुप नै आफ्नो धर्म निर्वाह गरे ।

नेपालको राजदरबार भित्र भएको अकल्पनीय घटना पश्चात आएको राजनीतिक घटनाक्रमको श्रृंखलामा फेरि पनि अनेकथरी गतिविधिहरु भए । तत्कालीन संवैधानिक व्यवस्था भित्र अनेक व्यवधान खडा गर्ने, वखेडा विद्रोह आदि भए । संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिने अनेक अवरोधक परिस्थितिहरु पैदा भए । चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरु कुनै वैकल्पिक सोंचले केही हुन्छ कि भनेर पनि सोचियो । वार्ता सम्वाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरु पनि गरिए ।

विसं २०६२/६३ र ६४/६५ सम्म आइपुग्दा देशको परिस्थितिले के के कोल्टोफे्यो – त्यतिखेर कतिलाई अतीतको बोध हरायो, कतिलाई भविष्यको अनेक सपना तानावानाले तान्यो – नमालुम् – के के भयो के के – राजनीतिमा देशी , विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरु नै दिग्भ्रमति भएपछि मैले राजापाट परित्यागको एउटा सामयिक अठोट गरे – उदारतापूर्वक परिवर्तनकारी शक्तिहरुबाटै यो मातृभूुमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोंच राखेर नासोकोरुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किए ।

विसं २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबारमा भएको पत्रकार सम्मेलनमार्फत देशवासीलाई सम्बोधन गर्दा मैले भनेको थिए – राष्ट्राध्यक्षको हैसियतमा काम गर्दा मैले कुनै कसैको अधिकार हनन हुने काम गरिन । अहिले पनि म आफ्नो अन्तहर््दय पोख्दछु कि मैले आफ्नो सात बर्षे त्यो राज्यकालमा जे गरे – त्यो तत्कालीन संवैधानिक जटिलता र अवरुद्धताको कार्य कारणमै भएर गरेको हो । अन्यथा मेरो यावत कार्यकलाप देशहितविरुद्ध थिएनन ।

अनि त्यतिखेर मैले भनेको थिए – म जुनसुकै हैसियत र अवस्थामा रहेपनि नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डतामा समर्पित रहने प्रण गर्दछु , किनकी मलाई स्वतन्त्रत राष्ट्र नेपालको माया छ । अहिले पनि १२ बर्ष अघिको आफ्नो त्यो कथनको स्मरण गर्दै – मेरो अन्तर्मन भन्छ , हाम्रो यो प्यारो देश नेपाल हामी सबै मिलेर बचाउने हो , बनाउने हो । हामी सबै मिलेर हाम्रो देश सिंगार्ने हो अनि हामी सबै जुटेर हाम्रो देशको सबै जनतालाई खुसी र समृद्ध बनाउने हो ।

अहिले हाम्रो मुलुक नयाँ परिवर्तनमा छ । राजनीतिक परिवर्तनको इच्छा र समसामयिक सन्दर्भलाई बुझेर मैले लोकसम्मत आधारलाई अख्तियार गरे । तत्पश्चात पनि एक स्वतन्त्र नागरिकको हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी लोकसम्मत आधारलाई अख्तियार गरे । तत्पश्चात पनि एक स्वतन्त्र नागरिकको हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी कार्यविधिलाई नै आफ्नो राष्ट्रिय धर्म ठान्दै आएको छु । गहन जिम्मेवारी र शासकीय अभिभाराबाट पृथक् रहेर पनि मैले याताका १०÷१२ बर्षमा निकै पटक देश दर्शन गरेको छु । धेरै धेरै जनताको हृदय सम्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु ।

शायद धेरैको चाहना भावना वा त्यस्तै केही महत्वबोधका कारणले होला मैले पटक पटक बोलेका भनेका कुराहरुलाई संग्रहित गरेर यो संग्रह प्रकाशन गरिए जस्तो लाग्छ – जे होस – यो आम जनसमक्ष छ – जे जसरी जसले यसलाई अथ्र्याउछन । मेरो अभ्यन्तरको, मेरो अन्तर्मनको आफ्नो स्पन्दन आफ्नो धन्कन त त्यत्ति हो – यो राष्ट्रले उचो गति लेओस – यसको स्वाधीनता , स्वाभिमान नमुगोस् र नेपाली जनता सुखी शान्त रहुन ।

आफ्नो ७३ औ जन्मदिनको सन्दर्भमा सार्वजनिक गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा बिभिन्न अवसरमा दिएको सन्देश र भाषणहरुको संग्रह सन्देश संग्रहमा पूर्व राजाद्वारा लिखित आफ्नो अन्तर्मनको मेरो स्पन्दन नामक लेख पाठकहरुका लागि साभार

Post Comment