अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार नोबेल पुरस्कार विजेता याजिदी अभियन्ता नादिया मुरादलाई मूर्खतापूर्ण प्रश्न गरेका छन् ।
तपाईंले किन नोबेल पुरस्कार पाउनुभएको भनी ट्रम्पले नादियालाई सोधे । नादिया एक प्रतिनिधिमण्डलका साथ बुधवार ट्रम्पलाई भेट्न ह्वाइट हाउस गएकी थिइन् । उनले ट्रम्पलाई इराकका याजिदी महिलामाथि भएको अत्याचारमा न्याय दिलाउन सहायता गर्न अनुरोध गरेकी थिइन् ।
सन् २०१४ मा इराकमा इस्लामिक स्टेटका आतंकवादीहरूले नादियालाई अपहरण गरेर लगेका थिए । नादियाका आमा र ६ दाजुभाइलाई उनीहरूले मारिदिएका थिए । तीन हजार याजिदीहरू अहिलेसम्म पनि बेपत्ता रहेको नादियाले जानकारी दिइन् ।
ट्रम्पले सोधे, ‘तपाईंले नोबेल पुरस्कार जित्नुभएको हो ? अविश्वसनीय छ । तर तपाईंलाई नोबेल पुरस्कार किन दिइएको हो ?’
ट्रम्पको यो प्रश्न सुनेर नादिया स्तब्ध भइन् र आफूमाथि भएको अत्याचारको बेलीविस्तार लाइन् ।
नदियाले भनिन्, ‘ममाथि यति धेरै अत्याचार हुँदा समेत मैले हार मानिनँ । आईएसका आतंकवादीहरूले हजारौं याजिदीलाई बलात्कार गरेका छन् । कृपया केही गर्नुस् । इराकी र कुर्दिश सरकारलाई याजिदीको सुरक्षित घरफिर्तीको वातावरण बनाउन भन्नुस् ।’
ट्रम्पले सोधे, ‘आईएस त गइसक्यो नि । अब कुर्दिश छन् कि अरू कोही ?’
नादियाले भनिन्, ‘म त्यो ठाउँ राम्ररी चिन्दछु । त्यहाँबाट याजिदीहरू खतरनाक बाटो हुँदै जर्मनी लगायतका सुरक्षित ठाउँ पुग्छन् ।’
नादिया जस्तै गरी रोहिंग्या प्रतिनिधिहरूले पनि ट्रम्पसँग भेटघाट गरे तर ट्रम्पलाई उनीहरूका बारेमा पनि थाहा भएन । त्यसको एक दिनअघि मात्र ट्रम्प प्रशासनले म्यान्मारका सेनाप्रमुख र तीन अन्य अधिकारीलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको थियो ।