नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले फेरि अमेरिकाको आलोचना गरेका छन् ।
उनले अमेरिकाले क्युबा माथि लगाएको प्रतिबन्ध मानवअधिकारका विश्वव्यापी मान्यता विपरित भएको बताएका हुन् ।
शुक्रबारदेखि आयोजना भएको, नवौँ एशिया प्यासिफिक रिजनल कन्फरेन्स अफ सोलीड्यारिटि विद क्युबा नामक सम्मेलनको उद्घाटन गर्दै उनले यसको विरोध गरेका हुन् ।
अमेरिकाले क्युबा विरुद्ध ६ दशक देखि विभिन्न किसिमका प्रतिबन्धहरु लगाउँदै आएको छ । नेपालले भने त्यस्तो प्रतिबन्धका विरूद्ध क्युबालाई साथ दिँदै आएको प्रचण्डले बताए ।
क्युबाको पक्षमा र प्रतिबन्धका विरूद्धमा नेपालले राष्ट्र संघमा समेत आवाज उठाएको उनले बताएका छन् ।
नेपालले आफ्नो राजनितिक परिवर्तनमा समेत क्युबाका कम्युनिष्ट नेताहरुबाट प्रेरणा लिएको उनको तर्क छ । क्यूबाका नेता फिडेल क्यास्ट्रो र चे ग्वेभाराले त्यहाँको भ्रष्टाचारी शासक बाटिस्ता विरुद्धको लडाइँ लडेर देशलाई राम्रो स्थितिमा पुर्याएको भन्दै अध्यक्ष प्रचण्डले प्रशंसा गरे।
यसअघि प्रचण्डले अमेरिकाले भेनेजुयलामा लगाएको प्रतिबन्धविरुद्ध पनि बोलेका थिए । जसकाे व्यापक चर्चा भएको थियो ।