चीनप्रति विश्व व्यापार संगठन उदार हुन हुदैन :ट्रम्प

चीनप्रति विश्व व्यापार संगठन उदार हुन हुदैन :ट्रम्प
समाचार

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) लाई चीन र अन्य अर्थतन्त्रहरूलाई विकासशील देशको नाममा वैश्विक व्यापार नियममा उदारताबाट फाइदा उठाउन दिन नहुने बताएका छन् ।

ट्रम्पले एक पत्र पठाएर अमेरिकाका व्यापारमन्त्री रोबर्ट लाइटहाइजरलाई आर्थिक रूपमा बलिया तथा सुविधा आवश्यक नभएका मुलुकलाई विकासशीलको दर्जा दिनबाट डब्ल्यूटीओलाई रोक्न सम्भव भएसम्मका उपाय अपनाउन भनेको छ ।

चीन तथा अन्य विश्वशक्तिहरूले विकासशील देशको दर्जा पाएर व्यापार नियमको अनुचित लाभ उठाउने अवसर पाएको ट्रम्पको भनाइ छ । डब्ल्यूटीओले यस दिशामा उल्लेखनीय कदम नउठाएमा अमेरिका आफैंले यी देशरूलाई विकासशील मान्न छोड्नेछ ।

ट्रम्पले ट्वीट गरे, ‘संसारका धनी देशहरूले डब्ल्यूटीओका नियमबाट बच्न तथा सुविधा प्राप्त गर्नका लागि विकासशील भएको दाबी गरिरहेका छन् । अब यसो हुँदैन । आज मैले अमेरिकाका व्यापारमन्त्रीलाई अमेरिका अप्ठ्यारोमा पर्ने गरी व्यवस्थामा धोका दिने देशलाई रोक्नका लागि कदम उठाउन निर्देशन दिएको छु ।’

ट्रम्पले लाइटहाइजरलाई यस विषयमा ६० दिनभित्र प्रतिक्रिया दिन भनेका छन् ।

Post Comment