रुससँगको पारमाणविक सन्धि तोड्ने अमेरिकाको घोषणा, अस्त्र होडबाजीको आशङ्का

रुससँगको पारमाणविक सन्धि तोड्ने अमेरिकाको घोषणा,  अस्त्र होडबाजीको आशङ्का
समाचार

अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिकरूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी शुरू हुने आशङ्का गरिएको छ।

‘इन्टरमिडियट-रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी’, आइएनएफ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालिन सोभियत सङ्घका नेता मिखाइल गोर्वाचेभले सन् १९८७ मा हस्ताक्षर गरेका थिए।

यो सन्धिले ५०० देखि ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमाथि प्रतिबन्ध लगाउँछ।

तर यो वर्षको शुरूमा अमेरिका र नेटोले रुसलाई नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर यो सन्धि तोडेको आरोप लगाएका थिए। मस्कोले भने यो आरोपको खण्डन गरेको थियो।

अमेरिकीहरूले रुसले ९एम७२९ क्षेप्यास्त्रहरू विभिन्न स्थानमा तयार राखेको प्रमाण भएको बताएको थियो। त्यही आरोप अमेरिकाले नेटोका सदस्य राष्ट्रहरूसमक्ष राख्दा सबैले समर्थन जनाएका थिए।
राष्ट्रपति डोनल्ड ट्रम्पले गएको फेब्रुअरीमा रुसले अगस्ट २ तारिखसम्म यो कदम नसच्याएमा सन्धि तोड्ने बताएका थिए।

रुसी राष्ट्रपतिले लगत्तै सो सन्धिबाट रुसको जिम्मेवारीलाई निलम्बन गरेका थिए।

यसको खतरा के?

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले “पारमाणविक युद्धको एउटा ब्रेक” हराउन लागेको बताएका छन्।

“यसले क्षेप्यास्त्रहरूले खतरालाई घटाउने होइन्, झन बढाएको छ,” उनले भने। उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय अस्त्र नियन्त्रण गर्न नयाँ साझा बाटोका लागि सहमति खोज्न अनुरोध गरेका छन्।

विश्लेषकहरूले ऐतिहासिक सहमति नहुँदा अमेरिका, रुस र चीनबीच अस्त्र होडबाजी शुरू हुने आशङ्का व्यक्त गरेका छन्।

“अब यो सन्धि अन्त्य भएपछि हामीले नयाँ अस्त्रहरूको विकास र विस्तार देख्नेछौँ,” रुसी सैन्य विश्लेषकले एएफपी समाचार संस्थालाई बताए।

“रुस पहिल्यै तयार छ।”

Post Comment